भ्रष्टाचार गरेको भन्दै सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालमाथि अख्तियारको छानबीन शुरु !

दियो पोस्ट  

धादिङ । नेकपा एमालेका तर्फबाट सिद्धलेक गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका प्रेमनाथ सिलवालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

‘उहाँले आफू सिद्धलेक गाउँपालिका अध्यक्ष पदमा रहँदा गरेको भ्रष्टाचारबारे प्रमाणसहित उजुरी प्राप्त भएको थियो । सोही उजुरीबारे छानबीन थालिएको हो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले भन्यो,‘उपसचिव ज्युको नेतृत्वमा एउटा समिति नै बनेर अनुसन्धान चलिरहेको छ । अनुसन्धानमा चलिरहेको विषय सबै विस्तृतमा भन्न मिल्दैन । तर, अख्तियारले कस्तो मुद्दा अनुसन्धान गर्ने भनेर छुट्याउनका लागि एउटा समिति बनाएको सोही समितिले यो मुद्दा अगाडी बढाएको हो ।’

स्रोतका अनुसार सिलवाल विरुद्ध गत फागुन पहिलो साता नै उजुरी परेको थियो । उनी विरुद्ध परेको उजुरी दियोपोस्टले समेत फेला पारेको छ । उक्त उजुरी अनुसार सिलवालले ७ वटा विभिन्न ठूला ठेक्का र खरिदमा भ्रष्टाचार गरेको उल्लेख छ ।
गाउँपालिका अध्यक्ष सिलवाल र तत्कालिन प्रशासकीय अधिकृत धनेश्वर पौडेलको मिलेमतोमा एक ठेकेदारलाई गैरकानुनी रुपमा एक करोड ११ लाख रुपैयाँ छुट दिई स्थानिय सरकारलाई गम्भिर हानी पुर्याएको उजुरीमा जनाइएको छ ।
त्यस्तै अध्यक्ष सिलवाल, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पौडेल र पूर्व स्वास्थ्य संयोजक राम प्रसाद सिलवालको मिलेमतोमा औषधी खरिदमा चरम घोटाला गरेको समेत आरोप छ । शिलबन्दी बोलपत्रको नाममा सार्वजनिक सुचना नै प्रकाशन नगरि पटक पटक लाखौँ रुपैयाँको औषधी किनिएको र उक्त औषधी खरिद गर्दा निकै महँगोमा खरिद गरि भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ । उजुरीमा सो सम्बन्धमा समेत प्रमाण समेत देखाइएको छ । उजुरीमा औषधी खरिदका क्रममा प्रति ट्याबलेट कसरी घोटाला गरियो भन्ने विवरण नै उल्लेख गरिएको छ । गाउँपालिकाले खरिद गरेको ८२ प्रकारका औषधीमध्ये अधिकांश औषधी नेपाल सरकारले नै निशुल्क उपलब्ध गराउने गरेको र ती औषधी खरिद गर्दा नै १० गुणा बढी महँगोमा खरिद गरेको बिल समेत उजुरीमा समावेश गरिएको छ ।

त्यस्तै गाउँपालिकाबाट हुने अधिकांश निर्माणमा उपभोक्ता समिति गठन गर्ने र उक्त समिति मार्फत आफ्ना नातेदार कमल सिलवाललाई सेटिङमा ठेक्का दिने गरिएको उजुरीमा आरोप छ । ‘उजुरीहरुमा प्रमाण र विवरण उल्लेख छ,’ एक अनुसन्धान अधिकृत भन्छन्,‘यो विषयमा गम्भिर रुपले अनुसन्धान गर्नुपर्ने भएको छ । त्यसैले हामी विज्ञहरु नै ल्याउने कोशिस गरिरहेका छौँ ।’

उनले अधिकांश निर्माणको काम सिलवाललाई बाबु भनेर सम्बोधन गर्ने कमल कन्स्ट्रक्सन एड सप्लायर्सलाई दिएको उजुरीमा उल्लेख छ । सिलवाललाई एकै आर्थिक वर्षमा ३२ वटा सडक आयोजनाको ठेक्का सेटिङमा दिएको आरोप उजुरीमा लगाइएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले ५० प्रसितशत अनुदानमा वितरण गरेको हाते ट्याक्टर (यन्त्रिक हलो) खरिदमा पनि सिलवालले चरम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।

‘गाँउपालिकाले ७ हर्स पावर र ५.५ हर्स पावरको २ खाले गरी १ सय १० वटा ट्याक्टर खरिद गरेको थियो भने गाँउपालिकाले उक्त कम्पनीलाई ७ हर्स पावरको ट्याक्टरको रु. ७५ हजार र ५.५ हर्स पावरको ट्याक्टरको रु. ६५ हजार तिरेको छ । जुन मुल्य बास्तविक मुल्य भन्दा झण्डै दोब्बर हो । सोहि क्षेत्रका विज्ञहरुका अनुसार उक्त ट्याक्टरको ७ हर्स पावरको ४८ हजार र ५.५ हर्स पावरको ट्याक्टरको रु.४२ हजार रुपैयाँ पर्छ । त्यति मात्रै होइन १ सय १० वटा हातेट्याक्टर खरिद गर्दा गाउँपालिकाले पाउने छूटमा समेत कमिशन लिएको देखिन्छ,’ उजुरीमा भनिएको छ,‘जिल्लाकै अर्को सरकारी निकायले खरिद गरेको सोही हर्स पावरेको ट्याक्टरको कोटेशनमा सिद्धलेक गाउँपालिकाको समेत ट्याक्टर खरिद गरेको भक्तपुरको दुवाल आरआर विके इन्टरप्राइजेजले सोही हर्स पावरको दुई थरी ट्याक्टर ५२ हजार रुपैयाँ र ५६ हजार रुपैयाँमा खरिद गरेको देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धादिङले खरिद गरेको ट्याक्टर पनि सोही क्षमता र सप्लायर्सको हो । परियोजनाले ५० प्रतिशत अनुदानमा ६० वटा मिनिटिलर हस्तान्तरण गरेको थियो । जुन सिद्धलेक गाउँपालिकाले खरिद गरेको सप्लायर्स नै परियोजनाको ट्याक्टर सप्लाइमा छ ।’

त्यस्तै सिलवालले एकै आर्थिक वर्षमा एउटा बोलेरो गाडीमा १० लाख रुपैयाँ बराबरको इन्धन खर्च गरेको समेत उजुरीमा आरोप छ । उक्त उजुरीमा गाउँपालिकाको आय व्यय समेत समलग्न गरिएको छ ।

अख्तियारले छानबीन थालेपछि चुनावी प्रचारमा रहेका सिलवालले ‘जिते पालिका, हारे अमेरिका’ भन्दै आएका छन् । उनका छोरा अमेरिका रहेका कारण भ्रष्टाचारमा कारबाही पर्ने डरले उनी अमेरिका भाग्ने उनी निकटहरु बताउँछन् ।