भोट माग्दा माग्दै कपिलवस्तु र दाङमा उम्मेदवारको मृत्यु

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख २७, २०७९ | ९:२६:००

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको उनका आफन्तले बताए ।
राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

२०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित कुर्मी यसपटक पनि नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् ।

उम्मेदवार कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए । आयोगको निर्देशन अनुसार बाँकी निर्वाचन प्रकृया अघि बढाइने उनले बताए ।

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो ।

 

चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।

 

उनको उपचारको क्रममा गएराति मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।

 

तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर उनले काम गरेका थिए ।

सम्बन्धित खबर