तनहुँमा एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यर्ताबीच झडप

दियो पोस्ट  

तनहुँ । तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । दुईपक्षबीच ढुंगा हानाहान भएको हो ।

सोमबार घिरिङ गाउँपालिका–१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएको तनाव भएपछि विवाद भएको हो ।

 

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ–५ का १३ वर्षीय इश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बालक हराएपछि बालकका आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् । सोही विषयमा गाँउपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

यता नेपाली कांग्रेस तनहुँले पार्टीका घिरिङ गाँउ कार्यसमितका सभापति यामबहादुर थापामाथि हातपात भएको भन्दै उक्त घट्नाप्रति आपत्ति जनाएको छ ।

पार्टीका जिल्ला सभापति जीतप्रकाश आलेले एक विज्ञप्ति जारी गदै नेपाली कांग्रेस घिरिङ गाँउ कार्यसमितका सभापति थापामाथि हातपात गर्ने एमालेका कार्यकता भुवन विक लगायतको समूहलाई कारबाही गर्न माग गरेका छन् ।