काठमाडौं । चेक बाउन्स मुद्दामा अभियोग दाबी पुष्टि भई सजाय तोकिएका एक व्यक्तिलाई सिआइबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का ५० वर्षिय राम सुन्दर डंगोल रहेका छन् । उनले जाहेरवाला गोकर्ण राउतलाई खातामा पर्याप्त रकम नहुँदा नहुँदै २०७७ असोज २ गतै कैलाश विकास बैंकको चेक दिएका थिए ।
तर, उनले दिएको ३६ लाख ७५ हजार रुपयाँको चेक बाउन्स भएको थियो । उनलाई गत वैशाख ४ गते उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल र नरिश्वर भण्डारीको इजलाशले अभियोग दाबी पुष्टि गर्दै ७ दिन कैद र ३६ लाख ७५ हजार जरिबाना हुने ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।