खनियाबासमा पुतली चिन्ह लिएर चुनाव लडेका फूल तामाङले स्रोत नखुलेको पैसा बाढेको आरोप !

diyopost.com
दियो पोस्ट  बुधबार, बैशाख २८, २०७९ | १९:२१:५७

धादिङ । धादिङको खनियाँबास गाउँपालिकामा नेपाली कांग्रेसबाट बाघी उम्मेदवार बनेका फूल बहादुर तामाङले मौन अवधिमा पैसा बाढेको आरोप लागेको छ ।

पार्टीले टिकट नदिएपछि पूतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका उनले मतदाता प्रभावित पार्नका लागि लाखौँ रुपैयाँ वितरण गरेको आरोप स्थानियबासीले लगाएका छन् । ‘उहाँको कुनै व्यापार व्यावसाय छैन । तर, पनि बोराको बोरा पैसा बाढ्नु भएको छ । त्यो रकमको कुनै स्रोत पनि छैन,’ झार्लाङका एक स्थानियले नाम नबताउने सर्तमा भने,‘उहाँको दाई नाता पर्ने सुक तामाङ थाइल्याण्डको राजधानी बैंककमा बसेर लागु औषधको कारोबार गर्नु हुन्छ । उहाँका आफन्त र नातागोता सबै लागु औषध कारोबारमा छन् । सम्भवत त्यस्तै अवैध धन्दाको अवैध पैसा बाढिएको हो ।’

स्थायी घर खनियाबास ५ सत्यदेवि भएका फूल बहादुरले लागु औषध कारोबारकै अवैध रकम बाढेको स्थानियको आरोप छ । उनले सत्यदेविकै माथिल्लो भेगमा लाखौँ रुपैयाँ हातहातै वितरण गरेका छन् । झार्लाङमा भने पैसा बाँढ्नका लागि नेकपा एमालेका नेता मंग तामाङलाई ठेक्का दिएको आरोप छ ।

खोज पत्रकारिता केन्द्र (सिआइजे)ले सत्यदेवि गाउँको लागु पदार्थ कनेक्सनबारे लामो स्टोरी नै प्रकाशन गरेको थियो ।

लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् । तामाङका सबै जसो आफन्त नेपालका समेत विभिन्न जेलमा छन् ।

‘उहाँ हुन त मेरै आफन्त हो तर, उहाँले जसरी लाखौँ रुपैयाँ खर्च गर्नुभएको छ त्यसको कुनै स्रोत छैन । यहाँ पैसा बोराको बोरा खर्च गरिएको छ,’ उनकै एक आफन्तले भने,‘शुरुमा टिकट लिनकै लागि पैसा खर्च गर्न खोजिएको थियो । तर, लागुऔषधसँग जोडिएको थाहा पाएपछि नेताहरुले टिकटै दिन आनाकानी गरे । झार्लाङका शेरबहादुरले पनि लत्तो छाडे । उहाँले पूतली लिएर स्वतन्त्र उठ्नु भयो ।’
पैसा बाढिएको विषयमा प्रश्न गर्न उनलाई सम्पर्क गर्दा तामाङले आफू सेवा गर्न आएको तर पैसा नबाढेको बताए । ‘म सेवा गर्न आएको हो । पैसा बाढ्न आएको होइन,’ उनले भने ।

तपाईंले स्रोत नखुलेको पैसा कसरी बाढ्नु भयो भन्ने प्रश्न सोधेपछि भने उनले आफूले भेटेरै कुरा गर्ने भन्दै फोन राखिदिए ।

सम्बन्धित खबर