निलकण्ठमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवारसहित २० जना घाइते !

diyopost.com
दियो पोस्ट  बिहिबार, बैशाख २९, २०७९ | ७:०२:४४

धादिङ । धादिङमा सत्तारुढ गठबन्धनका कार्यकर्ताबीचनै ठूलो झडप भएको छ । झडपमा परि २० जनाभन्दा बढी स्थानिय जनता घाइतेभएका छन् ।

जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो । झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठसहित २० जना घाइते भएका हुन् । श्रेष्ठको टाउको, दाहिने आँखा, दात लगायत शरिरको विभिन्न ठाउँमा चोट लागेको छ ।

उनलाई जिल्ला अस्पतालमा राखेर उपचार गरिएको छ । झडपमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरी मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएका छन् । यता माओवादी केन्द्रका २ जना कार्यकर्ता पनि घाइते भएका छन् । माओवादीका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानियका अनुसार निर्वाचन आयोगले मौन अवधि तोकेकै समयमा बुधबार राती उनीहरु प्रचार प्रसारमा लागेका थिए । चुनावी प्रचारमा लागेका दुवै पक्षबीच झडप भएको थियो । मौन अवधिममा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठ दलबलसहित गाउँ गाउँ गएका थिए । त्यहीक्रममा माओवादी समर्थित स्थानियले उनीहरुमाथि आक्रमण गरेको जनाइएको छ ।

स्थानियका अनुसार शुरुमा कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरेका थिए । सोही निहुमा शुरु भएको झडपले उग्र रुप लिएको हो ।

झडप भएको स्थल निलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेस नेता तथा हालका मेयर भिम प्रसाद ढुंगानालाई माओवादी केन्द्रको समर्थन छ । माओवादी केन्द्रका तर्फबाट उपमेयरमा दिपक विश्वकर्मालाई कांग्रेसको समर्थन छ । यद्धपी कांग्रेसले आफ्नो तर्फबाट भोटर सुरक्षित गर्न स्वतन्त्र उम्मेदवारको रुपमा कल्पना अधिकारीलाई उठाएको छ ।

सम्बन्धित खबर