ओखलढुङ्गामा कांग्रेसको ‘गर्विलो’ इतिहास फर्कियो : कहाँ कसले बाजीमारे ?

दियो पोस्ट  

युवराज पहाडी

ओखलढुङ्गा । ओखलढुंगाको चुनावी परिणाम आउने क्रम जारी छ । योसँगै अघिल्ला जनप्रतिनिधि र हालका प्रतिनिधिलाई तुलना गर्न थालिएको छ । जिल्लाका आठ वटा स्थानिय तहका पुर्वप्रमुख र उपप्रमुखका गतिविधिमाथि जनताले निगरानी गरेकै थिए । सायद त्यसैले होला केही जनप्रतिनिधि दोहोरिए । चम्पादेवीका नवराज केसी, चिशंखुगढीका निशान्त शर्मा र खिजिदेम्वाकी उपाध्यक्ष सुसिला तमाङको सानदार दोस्रो कार्यकालमा पनि दोहोरिने मौका पाएका छन् । जनताको मुल्याकनमा सुनकोसीका रुद्र अधिकारी र खिजिका बेदवहादुर रोक्का बाहेकको राजनितिक जीवनले सेट ब्याक खाएको छ ।

यसअघिको निर्वाचनमा नमिठो पराजय भोगेको ओखलढुङ्गा कांग्रेसले यस पटक आफ्नो साख गर्विलो बनाएको छ । अबको ५ वर्ष काग्रेसका तेजेन्द्र खनाल, नवराज केसी, कमल तमाङ, अशोक कार्की, ज्ञानेन्द्र रुम्दालीहरुको हातमा पुगेको छ । कमल तामाङ र ज्ञानेन्द्र रुम्दालीलाई जनजातिका मुना समेत भनिन्छ ।
कांग्रेसका पूर्व सांसद रामहरि खतिवडाको विकल्पमाको रुपमा हेरिएका खनाल, केसी र कार्कीले कस्तो भूमिका निभाउँछन् त्यो समयको गर्भभित्रै छ ।
जनताले केही गर्ने हिम्मत भएका नेतृत्वलाई स्थानिय तह सुम्पिएको चर्चा छ । आफना–आफना चुनावी घोषणापत्रको अक्षरांश पालनामा समेत ध्यान दिन समेत ओखलढुंगेली जनताको माग छ ।

सिद्धिचरण नगरपालिकाको मेयरमा निर्वाचित नेपाली कांग्रेसका तेजन्द्र खनालले नेकपा एमालेकी इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतान्तरले हराएका हुन् । उप प्रमुखमा भने नेकपा एमाले केदारबाबु बस्नेत विजयी भए । खनाल र बस्नेतले नगरबासीको जीवनस्तरमा परिवर्तन ल्याउने अपेक्षा छ । यो नगरपालिका एमालेका प्रदेश सांसद अमिर गुरुङको क्षेत्र समेत हो । तर, उनकै नगरपालिकामा कांग्रेसले विजयको झण्डा गाढेपछि गुरुङको राजनीतिक भविष्य संकटमा परेको छ ।

चम्पादेवीको पालिका प्रमुखमा नेपाली कांग्रेसका नवराज केसी निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी दिल माया मगर निर्वाचित भएकी छिन् । जिल्लामै केसीले दोहोरिएर इतिहास बनाएका छन् ।

सुनकोसी गाउँपालिकामा अध्यक्षमा कमल तामाङले एमालेका सुनिल खडकालाई पछाडी पार्दै निर्वाचित भएका छन् । भने उपाध्यक्षमा सरस्वति कार्की तारालाई पछिपार्दै सुनिता अधिकारी निर्वाचित भएकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन् । जिल्लाका शतिmशाली युवामध्येको पात्रका रुपमा रुम्दालीलाई लिने गरिन्छ । विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रुम्दाली काग्रेसका मियो समेत हुन् ।

चिशंखुगढी पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । उनी तीन हजार एक सय ९८ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अशोक थापाले दुई हजार छ सय ९१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषबाबु थापा तीन हजार एक सय १६ मत ल्याएर विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुष्मिता राईले दुई हजार २० मत प्राप्त गरिन् । दोस्रो पटक अध्यक्षमा दोहोरिएका शर्मालाई विकासका अनुयायी हुन भन्ने ठूलो जमात जिल्लामा रहेको छ । उनी जिल्लाका समकालिन राजनितिकका चलाख नेतामा समेत पर्दछन् । लिखु गाउँपालिकामा काग्रेसका अशोक कार्की एमालेका मिलन विष्टलाई १८१ मतान्तरले पछिपार्दै निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकी अस्मीता थापा विजय भएकी छिन । कार्की त्यागी इमान्दार नेता समेत हुन । कार्की जनताका सर्वप्रिय पात्र समेत हुन । विष्टले दोहोरो नागरिकता लिएको विषयमा प्रहरीले पक्राउपूर्जी जारी गरेको थियो ।

मोलुङ गाउँपालिकामा नेकपा एमालेका उत्तम राई विजयी भएका छन् । राईले ४ हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकी उर्मिला खतिवडा निर्वाचित भइन् । यो गाउँपालिका एमाले सांसद यज्ञराज सुनुवारको गाउँपालिका समेत भएकाले विकासले गतिलिने छ भन्ने आसामा जनता छन् । खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन् । नेपाली कांग्रेसको गढ मानिएको खिजीदेम्बामा जनता समाजवादीका उम्मेदवार शेर्पाले कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरे ।

शेर्पाले २८८२ मत ल्याएर विजयी भए । कांग्रेसका बस्नेतले २७५२ मत पाए । उपाध्यक्षमा कांग्रेसकी सुशिला तामाङ विजयी भएकी छिन् । उनले २८२४ मत ल्याउँदा जसपाले २२४१ र एमालेले उपाध्यक्षमा १७१५ मत पाएको छ ।

यो कांग्रेसका पूर्वजिल्ला सभापति महेश कोर्मोचा र केन्द्रिय सदस्य प्रदीप सुनुवारको क्षेत्र हो । २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित बहुमत सिट कांग्रेसले जितेको थियो । पर्यटन ब्यावसायी शेर्पाको उदयलाई समृद्ध खिजिदेम्वाको अधुरो सपनालाई पुरा हुने विश्वासले हेरिएको छ ।