काठमाडौं । सिंहदरबारभित्र रूखको हाँगा भाँच्चिएर लाग्दा एक गुप्तचरको निधन भएको छ । पाल्पाको रम्भा गाउँपालिका–५ ताहुँ घर भएका २६ वर्षीय विजय कार्कीको मृत्यु भएको हो । उनी राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रुपमा कार्यरत थिए ।
बुधवार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग परिसरमा हावाहुरीका कारण एक्कासि रूखको हाँगा भाँच्चिएर लाग्दा उनको मृत्यु भएको हो । नजिकै रहेको क्यान्टिनमा खाना खाएर सुत्न जाने क्रममा उनलाई रुखको हाँगाले लागेको हो ।
उनलाई थप उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा राति ११ बजे उनको निधन भएको हो ।