सुन्दरी प्रतियोगितामा सहभागी किशोरीमाथि बलात्कार प्रकरण : प्रहरीले खोजेपछि मनोज पाण्डे फरार !

दियो पोस्ट  

काठमाडौं । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक किशोरीमाथि भएको बलात्कार र ६ महिनासम्मको यौन शोषणको घटनाले यतिबेला सामाजिक संजाल रंगिएको छ ।
पीडित युवतीले सामाजिक संजालमा सार्वजनिक गरेको भिडियो अनुसार उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेका थिए ।

 

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी छिन् । भिडियोमा उनले सानैदेखि मोडलिङमा रुचि राख्ने गरेको र कक्षा १२ को परीक्षा दिएपछि हाउस अफ फेसनमा अडिसन दिएको बताएकी छन् । त्यसमा छनोट नभए पनि उनको फोटो सार्वजनिक भएपछि मोडल भिसा ग्लोबल कन्सल्टेन्सीले ‘फोटोसुट’ का लागि अफर गरेको उनको भनाइ छ । ‘अफर आएपछि म निकै उत्साहित भएँ, कन्सल्टेन्सीको मान्छे र एक जना फोटाग्राफर मिलेर मेरो फोटोसुट गराए, कन्सल्टेन्सीको मान्छेले मलाई पाँच हजार रुपैयाँ दियो,’ उनले भनेकी छन्, ‘कन्सल्टेन्सीको मान्छेले मलाई सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बतायो, म पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएकाले सहभागी हुन तयार भएँ ।’

 

‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा उनी सहभागी मात्र भइनन्, ‘फर्स्ट रनर–अप’ को ताज पनि पाइन् । त्यसपछि प्रतियोगिताको आयोजकले उनलाई फोन गरेर नयाँ बानेश्वरको एभरेस्ट होटलमा ‘सक्सेस पार्टी’ हुन लागेको भनेर बोलाएको र त्यहाँ जाँदा अरू सहभागी पनि नदेखेको उनको भनाइ छ । आयोजकले अरू पछि आउँछन् भन्दै फकाएको, पेय पदार्थ दिएको र केही समयपछि आफूलाई चक्कर आएर असहज भएको तर घर जान नदिएको उनले भिडियोमा बताएकी छिन्,‘‘त्यसपछि मैले घर जान चाहन्छु भनेकी थिएँ तर उसले तिमी विजेता भएर यस्तो भन्ने भन्दै बस्न दबाब दियो ।’

अरू सहभागी आएपछि बोलाउने भन्दै आयोजकले केहीबेर आराम गर्न उनलाई कोठामा पठाएको तर त्यसपछि बेलाबेलामा होस खुल्दा आफूमाथि बलात्कार भइरहेको थाहा पाए पनि प्रतिकार गर्न नसकेको उनले बताएकी छन्  । एकैचोटि भोलिपल्ट बिहान होस खुल्दा आयोजक आफूसितै सुतिरहेको थाहा पाएको उनले भिडियोमा भनेकी छन् । आफू चिच्याएर रुन थालेपछि पैसा देखाएर फकाउन खोजेको र भिडियो तथा फोटो खिचिसकेको भन्दै धम्क्याएको उनले बताएकी छन् । ‘नग्न तस्बिर र भिडियोहरू लिएको छु, सार्वजनिक गरिदिन्छु भन्दै ब्लाकमेल गरेर ६ महिनासम्म यौन शोषण गरिरह्यो,’ उनले भनेकी छन् ।

आफ्ना एक जना पुरुष साथीलाई यो कथा भनेपछि उनको साथमा आयोजक एजेन्सीको कार्यालयमा गएको र अडियो रेकर्ड, टेक्स्ट मेसेजहरू सुनाएको उनले खुलाएकी छन् । आक्रोशित साथीले आयोजकलाई कुटेको, आफूले पनि एक–दुई झापड हानेको र माफी माग्न लगाएको उनको भनाइ छ । तर यही घटनाले गर्दा आफ्ना सामाजिक सम्बन्धहरू टुटेको, दोषीलाई कारबाही नभएको देखेर आत्मबल कमजोर भएको र विभिन्न औषधिको सहारा लिनुपरेको विस्तृत विवरण उनले सुनाएकी छन् ।

 

सन् २०१४ देखि हालसम्म लगातार औषधि उपचार र थेरापी गरे पनि आफूमा मानसिक पीडा भइरहेकाले सार्वजनिक गरेको उनको भनाइ छ । ‘म सत्य कुरा बोल्दै छु किनकि यत्रो वर्ष मनमा राखेर न म सन्चो भएँ न मेरो थेरापीले काम ग¥यो न मेडिसिनले । तर, मेरो साइकियाट्रिकले यो लुकाउनु हुँदैन, बोल भन्नुभयो, हिम्मत बटुलेर सार्वजनिक गरेकी हुँ,’ उनले भनेकी छन् ।

पीडितले उल्लेख गरेको प्रतियोगिता आयोजना गर्ने मोडेल भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डे भिडियो सार्वजनिक भएपछि सम्पर्कविहीन छन् । बानेश्वरमा कार्यालय चलाउँदै आएका उनले प्रतियोगिता आयोजना गर्दै आएका थिए, त्यस्तै अस्ट्रेलियालगायतका देशमा विद्यार्थी पनि पठाउँदै आएका छन् । प्रहरीले समेत अनुसन्धान थालेपछि उनी फरार रहेको स्रोतले जनाएको छ ।

उनको कार्यालयको नम्बर ०१४७८५३३१ मा सम्पर्क गर्दा फोन उठाउने महिलाले प्रमुख पाण्डेको नम्बर दिन नमिल्ने बताइन् । ‘उहाँको मोबाइल अहिले लाग्दैन । हामीलाई सम्पर्क नम्बर नदिन भनिएको छ,’ ती महिलाले भनिन् ।