काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा कन्सल्टटेन्सी संचालक मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।
उक्त प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म मानसिक यातना दिँदै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।
बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । उनलाई बलात्कार गर्नेमाथि हदम्यादसम्बन्धी कानुनी व्यवस्थाका कारण प्रहरीलाई बाधा परेको थियो । सामाजिक अभियान्ताहरुले उक्त कानुनी धाराकै विरोधमा आन्दोलन शुरु गरेका छन् ।