बुटवल । बुटवललाई नेकपा एमालेको ‘किल्ला’ भनिन्थ्यो । किनभने बुटवल उपमहानगरपालिकाको स्थानिय सरकारको नेतृत्व नेकपा एमालले २५ वर्षसम्म एकछत्र गरेको थियो ।
तर, एमालेको किल्ला भनिएको बुटवलमा नेपाली कांग्रेसले झण्डा गाडेको छ । उपमहानगर प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका खेलराज पाण्डे ७ हजार ५ सय ३३ मतान्तरले विजयी भएका छन्न् । २०५४ मा झन्डै ४ हजार मतान्तरले नेकपा एमाले विजयी भएको थियो । त्यस्तै ०७४ सालमा २४ सय मतान्तरले कांग्रेसलाई एमालेले नै पराजित गरेको थियो । तर, यो निर्वाचनमा भने दोब्बर मतान्तरले एमाले पराजित भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलको क्षेत्रको रुपमा चर्चित बुटवलमा नेकपा एमाले किन पराजित भयो भन्ने विषय यतिबेला चर्चाको विषय बन्न थालेको छ ।
निर्वाचन परिणामपछि बुटवलमा विभिन्न विषय चर्चामा आउन थालेको छ । खासगरि लुम्बिनी प्रदेशका पूर्व मख्यमन्त्री समेत रहेका एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीचको टकराबलाई चर्चामा ल्याउन थालिएको छ । बुटवललाई लुम्बिनी प्रदेशको राजधानी बनाउँछु भन्दै २०७४ सालमा भोट मागेका विष्णु पौडेलले प्रदेश राजधानी बनाउन सकेनन् । उनकै पार्टीका महासचिव शंकर पाखरेलको जोडबलमा राजधानी सरेर दाङ पुग्यो । रुपन्देहीका विष्णु पौडेल र दाङका शंकर पोखरेलका बीचको यो टकराब नै एमाले पराजित हुनुको प्रमुख कारण रहेको एमाले भित्र चर्चा हुन थालेको छ ।
त्यसो त लुम्बिनी प्रदेशको टिकट वितरणमा उपाध्यक्ष पौडेल भन्दा महासचिव शंकर पोखरेल हाबी भएको कारण चुनावमा जनमत भाँडिएको समेत विश्लेषण छ ।
पौडेलले बुटवलमा आफू निकट अर्कै व्यक्तिलाई मेयरमा ल्याउन चाहेका थिए । तर, शंकर पोखरेलले बाबुराम भट्टराईलाई टिकट दिलाइदिए ।
‘महासचिव पोखरेलले अर्काको क्षेत्रमा आएर खेल्न थाल्नु भयो । यो गम्भिर गल्ति हो । यसले दिर्घकालिन असर पार्छ,’ नेकपा एमालेका एक नेता भन्छन् ।
दुई नेताबीचको द्वन्दका कारण एमालेले सैनामैना नगरपालिकामा पनि नेतृत्व गुमाएको छ । सैनामैना नगरपालिकामा नेपाली कांग्रेसका फणेन्द्र प्रसाद शर्मा विजयी भएका छन् । शर्माले १५ हजार ६ सय ८६ मत पाए भने एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ५ मत ल्याए । उपमेयरमा भने एमालेकी विना रानाले बाजी मारेकी छिन् ।
बुटवल उपमहानगर, सैनामैना, तिलोत्तमामा उम्मेदवार छनोटमा पोखरेल हाबी भएको एमाले वृत्तमै चर्चा छ । यसअघि एमालेको बर्चश्व रहेको कन्चन नगरपालिका, कोटहीमाइ गाउँपालिका पनि एमाले शुन्य छ ।
बुटवलका नेता भोजराज श्रेष्ठले पनि पोखरेल र पौडेलबीचको द्वन्दका बुटवलमा पराजय भोग्नु परेको बताए ।
‘कांग्रेसले घोषणा गरेको अस्थायी राजधानी एमालेले जोगाउन नसक्नु र निर्वाचितले विकाससँग जनतालाई जोड्न नसक्नु नै पराजयको मुख्य कारण हो,’ उनले भने, ‘हामीले अघिल्लो पटक राजधानी यहीं राख्छौं भनेर भोट मागेकै हो, राख्न नसकेपछि जनताले पत्याएनन् ।’