विद्यार्थीमाथि यौन हिंसा प्रकरण : कलेजका अध्यक्ष, प्रिन्सिपल र फाइनान्स डाइरेक्टरको शंकाष्पद भूमिका !

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीमाथि भएको यौन दुर्व्यबहारको घटनामा व्यवस्थापनको लापरबाही देखिएको छ । कलेजका कोअर्डिनेटर जनार्दन शर्माले ३ भन्दा बढी विद्यार्थीमाथि यौन प्रस्ताव राख्ने र यौन हिंसा गरेको घटनामा प्रशासनले थाहा पाएर पनि विद्यार्थीमाथि नै आरोप लगाएको पाइएको छ ।

मंगलबार आन्दोलनमा उत्रिएका उनीहरुले कलेजका अध्यक्ष र फाइनान्सियल डाइरेक्टरलाई यसअघि नै घटनाबारे जानकारी गराउँदा उल्टो आरोप लगाएको बताएका हुन् ।

‘हामीले कलेजका अध्यक्ष र फाइनान्सियल डाइरेक्टरलाई यो घटनाबारे पटक पटक जानकारी गरायौँ । तर, उहाँहरुले हामीमाथि नै उल्टो आरोप लगाउन थाल्नु भयो,’ ती पीडित छात्राले भनिन्,‘यो कुरा हामीले चियरम्यान (केशव प्रसाद दंगाल) र फाइनान्स अपरेशन डाइरेक्टर (अजय खनाल)लाई पनि भनेका हौँ । तर उहाँहरुले त ‘तिमीहरुलाई रामाइलो भयो होला । तिमीहरु रिलेशनमा बसे पनि हामीलाई थाहा भएन’ भन्नु भयो ।’

उनका अनुसार अर्को साथीको विषयमा कुरा राख्दा पनि अध्यक्षले ‘तैँले नबोलेको भए किन उसले यस्तो भन्थ्यो भन्दै’ संरक्षण गरेको थियो ।

‘रिसेप्सनको म्यामले समेत तैँले बाहिर बाहिर कुरा भनिस् त्यही भएर तेरो गल्ती हो भन्दै हामीलाई नै कराउनु भयो,’ ती विद्यार्थीले भनिन्,‘परिवारलाई कलेजमा बोलाएर कुरा गर्दा यो कुरा बाहिर नगर तिम्रो फि निशुल्क गरिदिन्छौँ भन्नु भो । यो कुरा चेयर म्यानले भन्नु भयो ।’

विद्यार्थीहरुका अनुसार प्रिन्सिपल पुरुषोत्तम महर्जन समक्ष पटक पटक घटनाबारे जानकारी गराउँदा पनि कुनै पनि कारबाही अघि बढेन । त्यसकारण उनीहरु आज गौशाला प्रहरी समक्ष आन्दोलन गर्न पुगेका थिए । विद्यार्थीको आन्दोलनपछि प्रहरीले यौन हिंसा गर्ने जनार्दन अधिकारीलाई पक्राउ गरेको छ ।