काठमाडौं । अत्यन्त लोकप्रिय मतसहित ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित चिरिबाबु महर्जनले निर्वाचन जितेपछि दलिय आधारमा हेर्नु पाप हुने बताएका छन् । पदभार ग्रहणपछि आजै मन्तव्य दिँदै महर्जनले यस्तो बताएका हुन् ।
‘निर्वाचन नजितुन्जेलसम्म विभिन्न पार्टीको प्रस्तुती हामीले गर्यौँ । अब हामीले जितेर आएपछि समग्र ललितपुरबासीका प्रतिनिधी हौँ । महानगरमा जेजति समस्या आउँछन् । जेजति विकास निर्माणका काम गर्नुपर्ने हुन्छ । ती सबै काम गर्नका निमित्त हामी अहोरात्र लाग्नुपर्छ,’ उनले भने,‘हामीले भोट माग्दै गर्दा हामी राजनीतिक रुपले प्रस्तुत भयौँ । अब उप्रान्त त्यसो गर्नु मिल्दैन । हाम्रो निमित्त सबै नगरबासी बराबर हुन् । हिजो मलाई कसले भोट दियो कसले दिएन । त्यो हर्ने होइन । त्यो हेर्यो भने पाप लाग्छ ।’
महानगरमा निर्वाचित सबै प्रतिनिधिले टिम वर्कमा काम गर्नुपर्ने समेत उनले औँल्याए । ‘हामीले टिम वर्कमा काम गर्नुपर्छ । त्यसो गर्दा नगरबासीलाई शिरमा राखेर काम गर्नुपर्छ,’ उनले भने,‘यति गर्न सकेको खण्डमा हामी सफल हुनेछौँ ।’
नेकपा एमालेका प्रत्यासी हरिकृष्ण व्यन्जनकारलाई फराकिलो मतान्तरले पराजित गर्दै महर्जन पुुन ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी व्यन्जनकारले २४ हजार ५ सय ६० मत मात्रै पाए । यता उपमेयरमा भने नेकपा एमालेकी मञ्जली बज्राचार्य निर्वाचित भएकी छिन् ।