निक्षेप तथा कर्जा सुरक्षण कोषका सिइओ भण्डारी र लेखा प्रमुख आचार्य विरुद्ध अख्तियारमा उजुरी !

diyopost.com
दियो पोस्ट  बुधबार, जेठ ११, २०७९ | १९:५७:३०

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत अर्जुन भण्डारीसहित कोषका अर्का कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीहरुले चरम भ्रष्टाचार गरेको भन्दै उजुरी परेको हो ।

सिइओ भण्डारी र लेखा विभाग प्रमुख विक्रान्त आचार्यको मिलेमतोमा कोषको अर्बौं रकम गैरकानुनी रुपमा निजि बैंकमा सस्तो व्याजदरमा डिपोजिट गरि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उजुरी परेको हो ।
उजुरी अनुसार भण्डारी र आचार्यले बैंकसँगको सेटिङ गरि कमिशन खाएर कोषलाई करोडौँ घाटा पुर्याइएको छ । ‘राज्यलाई घाटा हुनेगरि थोरै व्याजदरमा रकम राख्ने र कोषको उच्च अधिकारीले भने करोडौँ रुपैयाँ लाभ लिने गरेका छन्,’ उजुरीमा भनिएको छ,‘नेपाल सरकारकै स्वामित्व रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकमा कोषले एक पैसा पनि डिपोजिट राखेको छैन ।’

कोषको करिब ६० करोड रुपैयाँ राजधानीको पुतलीसडकमा मुख्यालय रहेको सेन्चुरी बैंकको खल एकाउन्टमा जम्मा गरेको विषयमा दियोपोस्ट डटकमले खबर प्रकाशन गरेको थियो । वार्षिक मुद्धती खातामा राख्दा ७ करोड भन्दा बढी ब्याज आउने भएपनि भण्डारी र आचार्यको मिलेमतोमा वार्षिक ३ प्रतिशत ब्याज आउने गरि कल एकाउन्टमा राज्यको यतिका रकम सेन्चुरी बैंकमा राखेर करोडौँ हानी पुर्याएको खुलेको थियो ।
अख्तियारले गम्भिरतापूर्वक मुद्दा हेरेमा भण्डारी र आचार्यमाथि राज्य विरुद्धको अपराधमा समेत कारबाही हुन सक्ने कर्मचारीहरु बताउँछन् ।

अख्तियारमा परेको उजुरी अनुसार सिइओ भण्डारीले कार्यालय समयमा पनि अनावश्यक मिटिङ राखी भत्ता खाने गरेका छन् । प्रशासनिक खर्चको आधा रकम भत्तामै खर्च हुने गरेको उजुरीमा उल्लेख छ ।

त्यस्तै सिइओ भण्डारीले बिना दरबन्दी गैरकानुनी रुपमा २ जना कानुनी सल्लाहाकार नियुक्त गरेको समेत उजुरीमा उल्लेख छ ।

सम्बन्धित खबर