काठमाडौं । आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज बेपत्ता भएको थियो । दिनैभरि खोज्दा पनि फेला नपरेपछि सुरक्षाकर्मीहरु खोजी कार्यलाई स्थगित गरेर सोमबार विहानैबाट खोज्ने तरखर गर्दै थिए ।
सोमबार विहान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको कोवाङमतिको सानोसरेमा यार्सागुम्बा टिप्न गएका स्थानीयले उक्त विमानलाई फेला पार्यो र सुरक्षाकर्मीलाई खबर गर्यो । उक्त विमान कोबाङमाति सानोसरेमा क्षतविच्छेद अवस्थामा भेटिएको थियो । अहिले सुरक्षाकर्मीले शव खोजि रहेको छ। विमानमा सवार चालक दलका ३ सहित २२ जनामध्ये १६ को शव भेटिएको छ । बाँकीको खोजी भइरहेको छ।
सोमबार अपरान्ह पोखरा विमानस्थलमा एयर होस्टेज कृष्मी थापाकी आमाका आर्तनादले थर्कमान भयो । अहिले पोखरा विमानस्थलमा उनकी आमा सहित आफन्त जम्मा भएका छन् । आफ्नी छोरी भएको ठाउँमा लैजाऊ भन्दै उनले विलौना गरिरहेकी छिन् ।
पोखराबाट आइतबार बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०: ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।