काठमाडौं । मुस्ताङ जिल्लामा तारा एअरको विमान दुर्घटनामा परेकामध्ये सोमवार दिउँसोसम्म १६ जनाको शव बराबद गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको विमानसँग केही मिनेटपछि सम्पर्क टुटेको थियो।
अधिकारीहरूका अनुसार विमानमा चारजना भारतीय, दुईजना जर्मन र बाँकी नेपाली नागरिक सवार थिए।
यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा परी सयौँ व्यक्तिले ज्यान गुमाएका तथ्याङ्क छन्।
नेपालमा हुने गरेका हवाई दुर्घटनालाई लिएर देशभित्र र बाहिरबाट प्रश्नहरू उठ्दै आएका छन्।
बारम्बार हुने गरेका हवाई दुर्घटनाका विभिन्न कारण रहेको विज्ञहरू औँल्याउँछन्।
तीमध्ये लापरवाही एउटा प्रमुख कारण रहेको हवाई उडानसम्बन्धी एकजना विज्ञले बीबीसीलाई बताए।
“हामीकहाँ भएका हवाई दुर्घटनामध्ये ९० प्रतिशतमा लापरवाही नै प्रमुख कारणको रूपमा देखिन्छ,” कुमार चालिसेले सँग भने।
“विमान उडाउने पेशाको संवेदनशीलता अनुसार साँच्चिकै हामी जिम्मेवारी सम्हाल्न नसक्ने नै हौँ त?” उनले प्रतिप्रश्न गरे।
“थुप्रै विदेशी पाइलटले हामीकहाँ हेलिकप्टर उडाइरहेका छन्। उनीहरूभन्दा हाम्रा पाइलटले चलाउने विमान किन धेरै दुर्घटनामा पर्ने गरेका छन् त?”
नेपालमा भएका कतिपय हवाई दुर्घटनामा पाइलटलाई दिइने दबाव पनि एउटा कारणको रूपमा रहेको अवकाशप्राप्त पाइलट प्रचण्डजङ्ग शाह औँल्याउँछन्।
“हामीकहाँ प्रेसर कल्चर [दबावको संस्कृति] छ। त्यसले गर्दा पनि दुर्घटना भएको छानबिनबाट देखिएका छन्,” उनले भने।
त्यसका ज्वलन्त उदाहरणका रूपमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना अनि तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई सवार अर्को हेलिकप्टर दुर्घटनालाई विज्ञहरूले अघि सार्ने गरेका छन्।
“हाम्रो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा विमान उडाउँदा थप सतर्कता अपनाउनुपर्ने हुन्छ। जति कठिन अवस्था हुन्छ त्यति नै नियमबद्ध हुनुपर्ने हुन्छ,” उनले थपे।
कतिपय अवस्थामा छानबिन समितिलाई स्वतन्त्र रूपमा प्रतिवेदन तयार पार्न नदिँदा पनि त्रुटि दोहोरिन नदिने दिशामा उपलब्धि हुन नसकेको केही छानबिन समितिमा बसिसकेका एकजना विज्ञले बताए।
“अनुसन्धानमा संलग्न विज्ञहरूमाथि स्वतन्त्र रूपमा प्रतिवेदन आउन नदिने गरी दबाव पनि दिने गरेको पाइएको छ,” नाम उल्लेख नगर्ने शर्तमा उनले भने। बीबीसीबाट