काठमाडौं । ४ दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय अधिकारीलाई नेपालको भूभाग समेत समेटेर भारतले नक्सा छापेको विषयमा धम्की दिएका छन् ।
बुधबार आफू बसेको होटल आईटीसी मौर्यामा दाहाललाई भेट्न आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्रालाई भारतले आफ्नो संसद भवनमा नेपालको भुभागसहितको नक्सा राखेको विषयमा धम्किपूर्ण आपत्ति जनाएको संचार माध्यमहरुले जनाएको छ ।
विहिबार प्रकाशित कान्तिपुर दैनिकका अनुसार डोभाल र क्वात्रसँगको भेटमा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भन्दा पनि असहजपूर्ण संवाद भएको उल्लेख छ ।
उक्त संवाद पछि प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास वैरागीलाई कुनैपनि सम्झौताहरुलाई अन्तिम रुप नदिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले भ्रमणको कार्यासुचिमा नभएपनि भारतको संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा सम्बन्धी विषयलाई प्रमुखताका साथ उठाएका थिए ।
‘दुई देशबीच विश्वासको वातावरण बनिरहेको बेला तपाईंहरुले यो सब किन गर्नुपरेको ? हाम्रोतिर पनि मान्छेहरु ग्रेटर नेपाल भनेर नक्सा छाप्छन्, के हामीले बनाउँदै गरेको संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्ने ?,’ प्रधानमन्त्री दाहालको भनाई उदृत गर्दै कान्तिपुरले लेखेको छ ।