नेपाल लाईफ ईन्स्योरेन्स बीमित रकम ‘हिनामिना काण्ड’मा संलग्नलाई उन्मुक्ति दिन चलखेल !

दियो पोस्ट  

काठमाडौं । नेपाली नागरिकको जीवन सुरक्षाको नाममा ठगीधन्दा चलाउँदै आएको नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडमा सर्वसाधरणको विमा रकम चरम हिनामिना हुँदा पनि नियामक निकाय मौन छ ।

केहीदिन अघि नेपाल लाईफ ईन्स्योरेन्सका उच्च अधिकारीकै मिलेमतोमा सर्वसाधरण बीमितको पैसा हिनामिना भएको घटना सार्वजनिक भएको थियो ।

सेल्स हेडको रुपमा कार्यरत उमापति पाख्रेलको मिलेमतोमा बीमित रकम हिनामिना भएको भन्दै उजुरी परेको थियो । उजुरीपछि सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गर्नुको सट्टा बीमा प्राधिकरणले पत्र मात्रै काटेर झारा टार्ने कामा गरेको छ ।
यता नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत प्रविन रमन पराजुली र अध्यक्ष गोविन्दलाल संघाइले घोटालामा संलग्नलाई कारबाही नै नगरी उन्मुक्ति दिएको रहस्य समेत खुलेको छ ।

घोटालामा संलग्न सेल्स हेड पोखरेललाई उन्मुक्ति दिएर साना कर्मचारीमाथि कारबाहीको नाटक गरिएको भन्दै विमा प्राधिकरणमा उजुरी परेको थियो । प्राधिकरणले उक्त उजुरीका आधारमा छानबीन गरि दोषीमाथि कारबाही गर्नुको सट्टा ७ दिनको समय दिएर पत्र पठाएको छ । उजुरीको प्रति समेत नेपाल लाईफकै कार्यालयमा प्रेसित गरेर प्राधिकरणकै अध्यक्ष सुर्य प्रसाद सिलवालले आफ्नो मिलमतोलाई पुष्टि गरेको उजुरकर्ताको आरोप छ ।

प्राधिकरणका नियमत शाखा सहायक निर्देशक प्रदिप गौतमले नेपाल लाईफलाई गत हप्ता नै पत्र पठाएका थिए । ७ दिने अल्टिमेटम दिइएपनि हालसम्म कारबाही भएको कुनै जानकारी उजुरकर्ताले पाएका छैनन् ।

बीमा प्राधिकरणका नियमन शाखाका सहायक निर्देशक प्रदिप गौतमले इन्स्योरेन्सलाई पठाएको पत्रमा उजुरीको प्रतिलिपीसहित पठाएको र सो उजुरीको सम्बन्धमा के–कसो भए÷गरेको हो सोको यथार्थ विवरण खुलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र प्राधिकरणमा प्रतिवेदन पेस गर्न निर्देशनअनुसार अनुरोध गरिन्छ’ भनिएको छ । इन्स्योरेन्सले तत्कालीन प्रदेशप्रमुख रहेका प्रेमप्रसाद अर्याललाई आर्थिक अनियमितता गरेकाले सेवाबाट बर्खास्त गरेको भनिए पनि सो रकम अनियमिततामा नेसनल सेल्स हेड पोखरेलसँग समेत भाग लगाएको र कम्पनीले अर्याललाई मात्र कारबाही गरेकाले छानबिन गर्न उजुरीमा माग गरिएको छ । पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्सभित्र अनियमितता, अपायक सरुवा, बढुवामा चलखेल भएको भन्दै बेनामे उजुरीहरू बीमा प्राधिकरणमा पर्न थालेका छन् ।

नेपाल लाईफ ईन्स्योरेन्समाथि के कस्तो कारबाही अघि बढेको छ भन्ने विषयमा प्राधिकरणका पवक्ता राजु रमण पौडेललाई प्रश्न गर्दा उनले आफू बाहिर रहेको र यस विषयमा कानुन तथा नियमन शाखाका प्रमुख रितेश पण्डितसँग जानकारी लिन आग्रह गरे ।

प्राधिकरणका कानुन तथा नियमन शाखा प्रमुख पण्डितलाई पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । हिनामिनाका विषयमा नेपाल लाईफको सुचना अधिकारी विनोद कुमार भूजेललाई सम्पर्क गर्दा उनी पनि सम्पर्कमा आउन चाहेनन् ।

स्रोतका अनुसार रकम हिनामिनाको खबर बाहिरिएपछि नेपाल लाईफका उच्च अधिकारीहरु घटना सामसुम पार्न सक्रिय छन् । उनीहरुले बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई समेत सेटिङ मिलाइसकेको चर्चा छ । पूर्वगृहसचिव समेत रहेका सिलवाल यसअघिदेखि विभिन्न विवादमा आउने गरेका छन् ।

अन्य उजुरीमा समेत सिलवालको रहस्यमयी हस्तक्षेप

नेपाल लाईफ ईन्स्योरेन्स विरुद्ध एउटा मात्रै होइन दर्जनौँ उजुरी विमा प्राधिकरणमा विचाराधिन छ । तर, प्राधिकरणका अध्यक्ष सिलवालकै कारण अधिकांश उजुरी छानबीनपछि कारबाही हुन सकेको छैन । अन्य उजुरीमा समेत अध्यक्ष सिलवालले कारबाही अघि बढाउन सकेका छैनन् । महालेखाको प्रतिवेदन अनुसार गत वर्षसम्म १८५ उजुरी फस्र्यौट हुन सकेको छैन । यस्ता उजुरी चार वर्षदेखि विचाराधिन रहेका छन् । तर प्राधिकरण अध्यक्ष सिलवाल कुनै कारबाही गर्ने आँट गर्न सक्दैनन् ।

विशेषगरि जीवन बिमा व्यावसायबाट मात्रै यस वर्ष १ खर्ब ३८ अर्ब ३५ करोड रकम संकलन भएका छन् । ती रकम के कसरी परिचालन भएका छन् भन्ने विषयमा बीमा समिति बेखबर छ । विशेषगरि बीमा कम्पनिका सीईओहरुले विभिन्न बैंकसँग कमिशनको सेटिङमा यस्ता रकम अपचलन गर्दै आएका छन् । ठूला ऋणीहरुलाई ऋण चाहिए बीमा कम्पनिका सीईओहरुलाई कमिशन बुझाएर मात्रै बैंकमा डिपोजिट गराउनुपर्ने अवस्था छ । यस्तोमा बीमा प्राधिकरणको अध्यक्षको समेत मिलेमतो हुने गरेको छ ।