बरु सरकार छाड्छौ तर भ्रष्टाचारीसँग सम्झौता गर्दैनौंः प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए ।

प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए ।

पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, ‘कतिपयले आशंका गरेको देख्छु– सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु, सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’

त्यसअघि प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भनेर सोचिएको बताए । उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति–सम्झौता ऐतिहासिक भएको दाहालले बताएका छन् ।