खाणको बचाउमा बार अध्यक्षको प्रश्न– भोलि प्रधानमन्त्रीसम्म हुनसक्ने व्यक्तिलाई फसाइयो, क्षतिपूर्ति कसले ब्यहोर्छ?

नक्कली भुटानी शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर मानव तस्करी मुद्दामा बुधबार नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालकृष्ण खाणको पक्षमा बहस गरेका छन्।

काठमाडौं जिल्ला अदालतमा पूर्ण गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको पक्षमा प्रतिरक्षा बहस गर्दै बार अध्यक्ष घिमिरेले खाणलाई हचुवाको भरमा अभियोगपत्र ल्याइएको दाबी गरे। उनले भने, ‘फसाउने नियत राखेर हचुवाको भरमा अभियोगपत्र ल्याइयो। भोलि प्रधानमन्त्री र पार्टी सभापतिसम्म बन्ने क्षमता भएका व्यक्तिलाई अभियोग लगाइएको छ। यसको भर्पाइ र क्षतिपूर्ति कसले ब्यहोर्छ?’

कसलाई खुसी पार्न यस्तो अभियोगपत्र ल्याइयो भन्ने प्रश्न गर्दै घिमिरेले डायरीमा लेखेका भरमा लेनदेन भएको भन्न नमिल्ने दाबी समेत गरे। उनले भने, ‘हस्ताक्षर नै नभएको कागजपत्र पेस गर्दैमा अभियोग प्रमाणित हुँदैन। कसैको राजनीतिक व्यक्तिगत जीवन नै समाप्त पार्न अभियोगपत्र ल्याइएको देखिन्छ।’

बार अध्यक्ष घिमिरेले सचिव टेकनारायण पाण्डेलाई पनि फसाउने नियतले पटकपटक बयानका लागि मेट्रो प्रहरीमा लगेको दाबी गरे।