पार्वती शाहीद्वारा लिखित कथा संग्रह ‘पहिलो रात’ सार्वजनिक

दियो पोस्ट  

काठमाडौं । साहित्यकार पार्वती शाहीद्वारा लिखित कथा संग्रह ‘पहिलो रात’ विमोचन भएको छ । राजधानीको प्रज्ञाभवनमा शुक्रबार सहित्यकार तथा नेपाल प्रहरीका पूर्व डिआइजी महेश विक्रम शाह र कथाकार राजेन्द्र पराजुलीले एकसाथ विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै साहित्यकार तथा पूर्वडिआइजी शाहले लेखकले आफ्नै शैलीमा सुदुरपश्चिम क्षेत्रमा महिलामाथि हुने विभेदबारे कथा मार्फत सुन्दर ढंगले प्रस्तुती दिएको बताए ।

‘यो कथाका आफ्नै शैली छन् । डडेलधुरामा जन्मनु भएकी लेखक पार्वति शाहीले देउकी प्रथा लगायत कुप्रथामाथि आफ्नो ढंगले प्रस्तुत दिनु भएको छ,’ प्रमुख अतिथि समेत रहेका शाहले भने,‘यहाँ साँच्चै उत्कृष्ठ कथाहरुको संग्रह छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ बिना बस्नेतले आफूले कथा पुरा नपढेपनि कथाहरु उत्कृष्ठ लागेको बताइन् । ‘मैले पुरै कथा पढ्न पाएको छैन । तर, यहाँ उत्कृष्ठ कथाहरु हुन सक्छन्,’ उनले भनिन्् ।

यता बुढानिलकण्ठ नगरपालिकाका उपमेयर तथा सामाजिक अभियान्ता अनु लामाले लेखक पार्वति शाहीको अक्षरहरुमाथिको प्रेम आफूलाई निकै मन परेको बताइन् । उनले उनको लखकीय क्षमतालाई नगरपालिकाले ग्रहण गर्ने र अपनत्व लिने बताइन् ।

मेयर मिठाराम अधिकारीले पनि पुस्तक लेखन चानचुने विषय नभएको र नगरपालिकाले लेखकको अपनत्व लिने दाबी गरे ।
पुस्तक लेखक पार्वति शाहीले आफूले आफ्नो परिवेश र समयलाई कथामा सुन्दर ढंगले उतारेको बताइन् । ‘यो पुस्तक प्रकाशन नहुँदा सम्म

मेरो सम्पत्तिको रुपमा रहेको थियो । अब तपाईंहरुको हातमा पुगेपछि पाठकहरुको भयो,’ शाहीले भनिन्,‘म अझै परिस्कृत ढंगबाट आफ्नो लेखन क्षमतालाई अघि बढाउनेछु ।’

पुस्तक पहिलो रात शिखा बुक्सले प्रकाशन गरेको हो ।