सहकारीको करोडौँ रकम ‘हिनामिना’ गर्ने केदार मानन्धरलाई एमाले अध्यक्षले पार्टीमा भित्र्याए !

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्षसहित उच्च अधिकारीहरुले सहकारी ठगीका एक अभियुक्तलाई पार्टीमा भव्य स्वागत गरेका छन् ।
राजधानीको नागार्जुनमा रहेको सीतापाइला सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको अभियोग लागेका केदार मानन्धरलाई एमाले अध्यक्ष ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेताहरुले पार्टी प्रवेश गराएका हुन् ।

सहकारीको निति सिद्धान्त विपरित करोडौँ रकम हिनामिनामा मुछिएका मानन्धर एमाले प्रवेश गरेका हुन् । ५३९९ जना शेयर सदस्य रहेको सहकारीमा सञ्चालकका कारण बचतकर्ता र सदस्यहरुको रकम मानन्धरसहितका उच्च अधिकारीले अपचलन गरेका थिए ।

सीतापाइला सहकारीको सञ्चालक समितिमा कार्यकारी अध्यक्ष केदार मानन्धर, उपाध्यक्ष सुदर्शन शाही ठकुरी, कोषाध्यक्षमा हारुण रसिद, सचिव सबिना शाक्य, सञ्चालकहरुमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, गौरी प्रसाद दवाडी र डा. तारक बहादुर केसी छन् । यि मध्ये सबै भन्दा बढि अपचलन कार्यकारी अध्यक्ष मानन्धर, सचिव शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख गिरीका आफन्तका नाममा भएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले ६४ लाख ११ हजार २३ रुपैयाँ र बहिनी चाँदनी गिरीका नाममा एक करोड ३९ लाख ६८ हजार तीन सय आठ रुपैया ऋण लिएका छन् । कार्यकारी अध्यक्ष केदार मानन्धरकी श्रीमती शर्मिला मानन्धरका नाममा एक करोड ५० लाख ७९ हजार दुई सय ९८ रुपैया ऋण लिएको देखिन्छ । सचिव शाक्यले दुई करोड २४ लाख ४४ हजार ६ सय ७४ रुपैया ऋण लिएकी छन् ।

सीतापाइला सहकारीले ऋण दिएको भनिएको एपेक्स डेप्लोपर संस्था नै नभएको बताइन्छ । उक्त संस्थाले एक करोड २४ लाख ऋण लिएको छ । त्यसै गरी कार्यकारी अध्यक्ष मानन्धरका भाइले पनि एक करोड ४३ लाख २७ हजार दुई सय पञ्चानब्बे रुपैयाँ ऋण लिएको विवरणमा देखिएको छ । सहकारीको पैसा बिभिन्न व्यक्तिको नाममा घरजग्गामा समेत लगानी गरिएको बुझिएको छ । साथै तुलसी मगरलाई बोर्डमा जानकारी नै नदिई बिना धितो ८५ लाख रुपैया ऋण दिइएको विषयमा समाचार पहिले नै आएको हो ।

२०५६ साल फागुन ९ गते दर्ता भएको सहकारीको नागर्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका र काठमाडौंका केहि वडाहरुमा कारोबार गर्दै आएको छ । ९३ करोड ४१ लाख २१ हजार ७६८ रुपैया निक्षेप रहेको सहकारीमा कुल सम्पत्ति २० औ साधारणसभासम्ममा १ अर्ब ९ करोड ९६ लाख १९ हजार दुई सय ३४ रुपैया रहेको छ ।

याे पनि पढ्नुहाेस्

सीतापाइला सहकारीमा ऋण अपचलन : सञ्चालककै नाममा १० औँ करोड ऋण !

ऋण अपचलनमा सीतापाइला सहकारी अध्यक्षको किर्तिमानी : बिनाधितो श्रीमतीकै नाममा करोडौँ !