अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौंअवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । मोरङको बेलबारी नगरपालिका–१ सिसौलीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ केजी ४ सय ८२ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया गंगामाया राई र धनकुटाको छिन्ताङ्ग सहिदभूमी गाउँपालिका–७ घर भएका २० वर्षीय केवल राई रहेका छन् । गंगामाया राईको घरमा अवैध रुपमा लागूऔषध कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले गंगामायाको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी शनिबार दिउँसो पक्राउ गरेको हो ।

साथै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ४ ग्राम १९ मिलीग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत घर भएका २९ वर्षीय सन्तोष कुमार साह र सिरहाको नगरपालिका–१७ ईनरवा टोल वस्ने १९ वर्षीय सुरज कुमार पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले भारतीय बीआर ३२ आर ७७०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।