काठमाडौं । गत शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । वर्षा, बाढी र पहिरोका कारण सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले आइतबार प्रतिनिधिसभा बैठकमा बताए ।
ताप्लेजुङ जिल्लामा यातायात आवागमन खुलाउन हेवाखोला पुल भत्किएको ठाउँमा १० दिनभित्र बेलिब्रिज निर्माण गरिने भौतिक पूर्वाधारमन्त्री ज्वालाले जानकारी दिए । बेलिब्रिज निर्माण नहुँदासम्म सतहबाटै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने छ । साथै अवरुद्ध सडक खुलाउन सडक आयोजना कार्यालयहरुलाई भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागबाट निर्देशन दिइसकेको र काम भइरहेको मन्त्री ज्वालाले जानकारी दिए ।