पहिरोमा पुरिएर २ जनाको मृत्यु

दियो पोस्ट  

तनहुँ । तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुडादीस्थित मुग्लिन–पोखरा सडकखण्डमा निर्माण कार्य भइरहेको अवस्थामा माथिबाट अचानक पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भिम र उदयपुर कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बल बहादुर राई रहेका छन् । उक्त स्थानमा पहिरो खस्दा सडक निर्माणमा काम गरिरहेका ३ जना कामदार पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले ३ जनालाई उद्दार गरी उपचारको लागि अस्पताल पठाइको थियो । जिल्ला अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरा लगेकोमा थप उपचारको क्रममा भुजेल र राईको सोमबार साँझ मृत्यु भएको हो । साथै गम्भीर घाइते १ जनाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।