ओखलढुंगाको चम्पादेवीमा पहिरो : एकै परिवारको तीन जनाको मृत्यु, एक बालक बेपत्ता

दियो पोस्ट  

युवराज पहाडी
ओखलढुंगा । सामान्य वर्षापछि पहिरोले घर पुरिँदा ओखलढुंगामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सोही परिवारका अर्का १० वर्षिय बालक दिनेश गुरुङ्ग बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको छ ।

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए ।
२०७२ सालमा विनाशकारी भुकम्पले चिरिएको बस्तीलाई सरकारले बेवास्ता गर्दा सामान्य वर्षापछि पहिरो गएको हो ।