२ अर्ब रुपैयाँ ऋण नपाएपछि शेष घलेको स्वामित्व रहेको शेराटन होटल निर्माण अलपत्र !

दियो पोस्ट  

काठमाडौं । केशरमहलस्थित निर्माणाधिन शेराटन होटल आर्थिक संकटका कारण समस्यामा फसेको छ ।

गैरआवाशिय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको स्वामित्व रहेको एमआइटी होल्डिङ्ग्सले करिब २ अर्ब रुपैयाँ ऋण नपाएपछि निर्माण रोकिएको हो ।

घले र उनकी पत्नि जमुना गुरुङ्ग नेपाली मूलका अष्ट्रेलियन अर्बपति व्यापारी हुन् । उनीहरुको स्वामित्व रहेको एमआइटी होल्डिङ्गले ५ अर्ब रुपैयाँमा ५ तारे होटल निर्माण थालेको थियो । सन् २०१७ मै सम्पन्न गर्ने लक्ष लिएपनि हाल २०२३ सम्म पनि निर्माण सकिएको छैन ।
तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाबाट शिलान्यास भएको १७ तले होटल निर्माणको ठेक्का तुदी कन्स्ट्रक्सनले पाएको थियो ।
घलेले नेपालका विभिन्न बैंकसँग ऋण माग गरेका थिए । तर, अष्ट्रेलियन नागरिक भएका कारण उनलाई ऋण दिन बैंकहरुलाई कानुनी अड्चन रहेको बताइन्छ ।

शुरुमा ८ अर्बमा होटल बन्ने भनिएपनि कोरोनालाई कारण देखाउँदै थप ७ अर्ब लागत थपिने कम्पनिले जनाएको थियो । एकैसाथ ७ अर्ब लगानी बढेपछि घले दम्पत्तिले विभिन्न निकायमा ऋण मागका लागि पहल गरेपनि अहिलेसम्म केही हात लागेको छैन ।

केशरमहलसँगै रहेको करिव १४ रोपनी क्षेत्रफलमा होटल निर्माण भइरहेको थियो । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम बनाउने घलेको योजना थियो ।

सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरीमा संचालनमै ल्याउने कम्पनिको तयारी थियो । तर, ६ वर्ष वितिसक्दा समेत होटल निर्माण सकिएको छैन ।

अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल चेन नेपालमा आउन लागेको भन्दै यसअघि नेपालको आर्थिक विकासमा फड्को भएको बताइने गरेको थियो । हुन पनि यो लगानी मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी हो ।

बिश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एण्ड रिसोर्ट वल्डवाइड इंक’ले संचालन गर्ने बिभिन्न होटल ब्राण्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा ४ सय होटल संचालन भइरहेका छन् ।

 

पाँचतारे लक्जरी होटल शेराटन काठमाडौंमा २१८ वटा गेष्टरुम र सुइट बनाउने कम्पनिको योजना थियो । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा हुने समेत यसअघि बताइएको थियो ।