पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाको खण्डन : ‘मानव तस्करीमा मेरो संलग्नता छैन’

दियो पोस्ट  

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
गत असार ४ गते दियोपोस्ट डटकममा ‘पर्वतारोहण संघ बन्यो मानव तस्करीको अखडा : अध्यक्षकै संलग्नतामा ३ पदाधिकारी क्यानडामा नै लुकेको खुलाशा’ शिर्षकको समाचारमा आपत्ति जनाउँदै शेर्पाले खण्डन गरेका हुन् ।
उनले समाचार पूर्ण असत्य, भ्रामक र अनर्गल र झूठ्ठा रहेको दाबी गरेका छन् । तर, खण्डनको दोस्रो प्यागाराग्राफमा भने प्रकाशित समाचार पुष्टि हुने गरि संघको केन्द्रीय सदस्यहरु क्यानडामै लुकेको विषय उल्लेख गरेका छन् ।

उनका अनुसार रामचन्द्र धमला, डोमा शेर्पा र लाल बहादुर वाइबा नेपाल पर्वतारोहण संघका केन्द्रीय कार्यसमिति सदस्यहरु हुन् । नेपाल पर्वतरोहण संघ युआइएएको साधारण सदस्य भएका कारण साधारण सभामा सहभागी हुनका लागि निमन्त्रणा प्राप्त भएको थियो । सोही अनुसार २०२२ को २७ अक्टोवर देखि २९ सम्म क्यानडामा युआइएए (युनियन अफ ईन्टरनेश्नल अल्पाइन एशोशियशन)को साधारण सभामा सहभागी हुनका लागि निमन्त्रणा आएको थियो । साधरण सभामा सहभागी हुनका लागि ती सदस्यलाई समेत मनोनयन गर्ने निर्णय कार्यासमितिले नै गरेको थियो । ती कार्यसमिति सदस्यले क्यानडाको निति नियम भित्र रहेर कार्यक्रममा सहभागी हुने गरि लिखित प्रतिबद्धता समेत गरेका थिए । अध्यक्ष शेर्पाका अनुसार उनीहरु स्वयंले नै भिषाको प्रक्रिया गरेका थिए ।

उनले आफ्नै नेतृत्वमा महासचिव मोहन लम्साल, र डोमा शेर्पा कार्यक्रममा सहभागी भएको स्विकार गरेका छन् । त्यस्तै डोमा शेर्पा व्यक्तिगत कामलाई देखाएर क्यानडामै बसेको समेत उनले स्विकार गरेका छन् । त्यस्तै सदस्यहरु रामचन्द्र धमला र लालबहादुर वाइवा सो सायमा कार्यक्रममा भाग लिन समेत नगएको उनको दाबी छ । ‘उनीहरु नेपालबाट नै नआएको र पछि कहिले गए भन्ने सम्बन्धमा संघलाई औपचारिक जानकारी छैन,’ अध्यक्ष शेर्पाले खण्डनमा भनेका छन् ,‘ती दुवै केन्द्रीय सदस्यहरु क्यानाडामा भएको जानकारी केही हप्ता अघि मात्र उहाँहरुबाट नै पत्रमार्फत संघलाई जानकारी हुन आएको हो । अतः कार्यक्रममा गएर उतै लुकेको भन्ने तहाँबाट प्रकाशित समाचार आफैमा खण्डित रहेको समेत स्पष्ट छ ।’

खण्डनमा शेर्पाले शुरुमा युआइएएको साधारण सभामै सहभागी हुनका लागि ती केन्द्रीय सदस्यको भिषा लागेको बताएका छन् । तर, अन्तिममा भने क्यानडा लुकेकाहरु सम्बन्धीत कार्यक्रममा सहभागी नै नभएको र आफ्नो निजि स्वतन्त्रता उपभोग गर्दै वदेश जानु भएको अवस्थालाई अनावश्यक रुपमा संघ र मेरो संलग्नता देखाई समाचार प्रकाशित भएको दाबी गरेका छन् । जबकी क्यानडा लुक्ने केन्द्रीय कार्यसमिति सदस्यहरुले भिषा भने संघकै कार्यसमितिको निर्णयबाट मनोनयन पछि पाएका थिए । तर, उनले व्यक्तिगत स्वतन्त्रता उपभोग गरेको र विदेश गएको भनेर ढाकछोप गरेका छन् ।

खण्डनमा समाचारमा प्रकाशित विषयलाई नै पुष्टि हुने तथ्यहरु उल्लेख गरेका शेर्पाले प्रकाशित समाचार असत्य भएको झूटो आरोप लगाएर कानुनी उपचारमा जाने धम्की समेत दिएका छन् ।