छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ संतुगलमा ग.१ ख ८५७४ नम्बरको बसले बा.प्र.०२–०३४ प १२४२ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ ज्वालामुखी गाउँपालिका–७ घर भएकी ४८ वर्षीया मेनुका ईटानी रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित सडकमा से.५ प ७५७८ नम्बरको मोटरसाइकल राँगा डलबमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ बस्ने २१ वर्षीय असिम राजबंशी र घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय बिजेन्द्र चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये असिम राजबंशीको स्थानिय पहलमानपुर पोलिक्लिनिक हुँदै घोडाघोडी अस्पताल सुखडमा र बिजेन्द्र चौधरीको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । डलब र डलब चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ जुडिबजारमा ज.१ ह ४९७० नम्बरको टेम्पु सोमबार राति दुर्घटनमा हुँदा टेम्पुमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–१० बस्ने ४५ वर्षीया लोच्छो खातुन रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय न्यू चारनाथ पोलीक्लिनिकमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टेम्पुमा सवार अन्य ४ जना सामान्य उपचार पश्चात डिश्चार्ज भएका छन् । हाल फरार टेम्पु चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।