ललिता निवास प्रकरणः विष्णु पौडेलका छोरा र सर्वोच्चका न्यायाधीशमाथि अनुसन्धान हुँदै

दियो पोस्ट  

काठमाडौं । सरकारी कागजात र प्रमाणहरु केरमेट तथा कीर्ते गरी बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको बनाउने प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गहिरो रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

सीआईबीले बालुवाटार प्रकरणमा भइरहेको अनुसन्धानबारे बुधबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतका न्यायाधीशसहित राजनीतिक दलका नेता र नेताका आफन्तहरुमाथि पनि अनुसन्धान भइरहेको बताएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेलमाथि पनि अनुसन्धान भइरहेको दाबी गरेको छ ।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले फिर्ता पठाएको फाइल फेरि खोलेर ललिता निवासको जग्गा हिनामिनामा भएको कीर्तेबारे अनुसन्धान अगाडि बढाएको सीआईबीले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। सीआईबीले निर्वाचन आयोगका पूर्व आयुकत सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितलाई पक्राउ गरेको थियो।

निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएका श्रोतको दाबी छ ।

पक्राउ परेकामध्ये ३ जना भने यसअघि नै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा जारी गरेको अन्तरिम आदेशानुसार रिहा भएका छन्।

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले भने अहिले कुनै पनि व्यक्तिमाथि अनुसन्धान नगर्ने, पक्राउ नगर्ने भन्ने कुनै योजना नरहेको र अनुसन्धान जारी रहेको बताइन्।

पौडेलका छोरा नवीनले शोभाकान्त ढकालसँग ८ आना जग्गा लिएका थिए। तर यो विवाद सार्वजनिक भएपछि उनले सरकारलाई नै फिर्ता गरेको घोषणा गरेका थिए।