काठमाडौं, २१ जेठ । पार्टी घोषणासभाका लागि तयार पारिएको नयाँ शक्ति नेपालको टेलिभिजन विज्ञापन विवादमा परेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त भिडियो शुक्रबार नै विवादमा आएको छ । भिडियोमा प्रयोग गरिएको तस्बिर दुरुपयोग भएको भन्दै फोटो पत्रकार नरेन्द्र श्रेष्ठले गल्ति सच्याउन नयाँ शक्तिलाई अनुरोध समेत गरेका छन् ।
उक्त भिडियोमा गरिबी हटाउनु पर्छ भन्दै एक वृद्ध महिलाको तस्विर राखिएको थियो । उक्त फोटोलाई नेपालको गरिबी भनेर चिनाइएको र विज्ञापन बनाउने संस्थाले आफूलाई आधिकारिक जानकारीबिना तस्बिर प्रयोग गरेको पत्रकार श्रेष्ठको आरोप छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई अचम्म लागेको बताएका छन् ।
‘यो तस्विर मैले वैशाख १२ को विनाशकारी भूकम्पको तेस्रो दिन काठमाडौंको गोलढुङ्गाको आफ्नो भत्केको घरमा नातिनि पुरिएर मृत्यु भएपछिको भावविहल अवस्थामा खिचएको हजुर आमाको तस्विर हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर, आज डा.बाबुराम भट्टराईको नयाँ पार्टी घोषणाको लागि बनाइएको टेलिभिजन प्रोमोमा यो तस्विर प्रयोग भएकोमा अचम्मित र दुखि भएको छु ।’
उनले प्रोमो बनाउने संस्थाले फोटोबारे आधिकारीक अनुमति समेत नलिएको बताएका छन् ।