रामेछाप, २२ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् ।
रामेछापको मन्थलीमा शनीबार बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले भने, सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हो ।
संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको उनको भनाइ थियो ।
अर्को प्रसङ्गमा अध्यक्ष दाहालले अन्य जिल्लामा जस्तै रामेछापमा पनि भूकम्पपीडितको नाम छुटेको र छुट भएकालाई पुनः नाम दर्ता गराउनका लागि पहल गर्ने समेत बताए ।