काठमाडौ, २२ जेठ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ शक्ति नेपालले आगामी देशको नेतृत्व गर्न नसक्ने दाबी गरेका छन् । राजधानीमा आयाजित एक कार्यक्रममा रायमाझीले आफूलाई नयाँ शक्तिमा जान खोजेको अफबाह फैलाएको समेत आरोप लगाएका छन् ।
रायमाझीले डा. बाबुराम भट्टराईले माओवादीको ईतिहास छाडेर राम्रो कम नगरेको तर्क गरे ।
उनले संविधान कार्यान्वयन र मुलुकको समृद्धिकोलागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको स्पष्टपार्दै बहुमतको सरकारको विकल्पमा बहुमतकै सरकार ल्याउँदा मुलुकमा अस्थिरता हुने धारणा राखे ।
‘अहिले सरकार परिवर्तन भन्दा पनि राष्ट्रिय सहमतिको सरकारको कुरा महत्वपूर्ण हो । सरकार परिवर्तनको माहौल बनिसकेको छैन । यो सरकारले काम गर्न सकेन भन्ने आरोप पनि लागेको छैन । त्यसैले अहिले सरकार परिवर्तन गर्न भन्दा पनि सहमति कायम गर्न छलफल गर्नु पर्छ,’ उनले भने ।
उनले राष्ट्रिय सहमतिको सरकार निर्माण भनेको सबैलाई सरकारमा सहभागि गराउने विषय भएकोले सहमतिको सरकारको बन्ने अवस्थामा आफू जस्तो सुकै कम्परमाईज गर्न पनि तयार रहेको स्पष्टपारे ।
उपप्रधानमन्त्री रायमाझीले आगामि मंसिर महिनाबाट लोडसेडिङ पाँच देखि ६ घण्टाभन्दा नबढ्ने दावी गर्दै यो वर्षको बर्षामा २ घण्टा भन्दा बढी लोडसेडिङ हुने बताए ।
उनले भने,‘ यो वर्ष हाईड्रोपावरबाट १२५ मेघावाट भन्दा बढी विजुली उत्पादन हुने देखिदैन । त्यसैले हामीले लोडसेडिङ न्यून गर्न विकल्पको लागि सोलार, विन्डपावर र थर्मल प्लान्टको विषयमा छलफल अघि बढाएका छौ ।’
उपप्रधानमन्त्री रायमाझीले दुई वर्षमा लोडसेडिङ अन्त्य गर्ने गरी आफ्नो नेतृत्वमा दशौ वर्षदेखि अड्किएर रहेको ढल्केबर–मुर्जफरफुर प्रशारण लाईन निर्माण सम्पन्न भएको, ढल्केबर–खिम्ती र ढल्केबर–हेटौडा प्रशारण लाईनको काम तिब्र रुपमा अघि बढेको जानकारी दिदै विद्युत चुहावट नियन्त्रणकोलागि समेत संयन्त्र अघि बढाईएकोले केही समयमा नतिजा आउने दावी गरे ।
उनले डेभलपरले नै थर्मल प्लान्ट ल्याएर उर्जा उत्पादन गरेपछि त्यसको पीपीए गरेर खरिद गर्ने गरी छलफल भईरहेको भन्दै त्यसबाट उत्पादित विजुलीको भार जनतालाई नपर्ने गरी डेडिकेटेड फिडरमार्फत वितरण गर्ने जानकारी दिए । यद्यपि उनले थर्मल प्लान्टको विषयमा कुनै ठोस निर्णय भने भईनसकेको बताए ।