काठमाडौं, जेठ १८ । जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ । जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता पत्ता लगाउन नसक्दा जग्गाको अवस्थाबारे पत्ता लाग्न नसकेको हो ।
स्रोतका अनुसार हाल ती जग्गासमेत मन्दिरको सम्पत्ति संरक्षणको जिम्मेवारी लिएका महन्थ तथा पुजारीले बिक्री गरिसकेका छन् । यसरी जग्गा बिक्री गरी प्राप्त रकम नेपाल तथा भारतका विभिन्न बैंकमा जम्मा गरी व्यक्तिगत सुविधाका लागि उपयोग गर्दै आएको स्रोतले जनाएको छ । भारतका अन्य स्थानमा पनि मन्दिरको नाममा थुप्रै जग्गा रहेको हुन सक्ने देखिएकाले यसको छानबिन गरिनुपर्ने सरकारद्वारा यसअघि गठन भएका विभिन्न छानबिन प्रतिवेदनले उल्लेख गरेका छन् ।
सरकारले मन्दिरका नाममा रहेको सम्पूर्ण जग्गालाई ट्रस्टमा परिणत गरी संरक्षण गर्ने योजना बनाएको थियो । मन्दिरका सम्पत्ति हिनामिना भएको तथा विभिन्न व्यक्तिका नाममा मन्दिरको जग्गा गएको पाइएपछि १९ माघ २०६७ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
यसका लागि तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई यसबारेको निर्देशन दिएको थियो । यद्यपि, यसलाई कार्यान्वयनमा लान मन्त्रालयले चासो देखाएन । फलस्वरूप ती योजना अलपत्र बन्न पुग्यो ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट समेत राजगुठीको जग्गामा २० करोडभन्दा बढीको सम्पत्ति हिनामिना भएको पाइएको छ । त्यस्तै, मन्दिरका नाममा रहेका अन्य सम्पत्तिसमेत गायब भएको अख्तियारले जारी गरेको १३ जेठ २०६६ को निर्णयमा उल्लेख छ ।
यस्ता सम्पत्ति हिनामिनामा महन्थहरूको संलग्नता पाइएपछि सर्वोच्च अदालतले २६ साउन २०७२ मा मठाधीशहरू फेर्ने फैसला गरेको थियो । तर, यो निर्णयसमेत कार्यान्वयनमा आउन सकेन । यसरी विभिन्न समयमा भएका निर्णय कार्यान्वयन नहँुदा र सम्पति हिनामिना गर्नेलाई कारबाही गर्न नसक्दा दुरुपयोग र अतिक्रमण बढ्न गएको देखिन्छ ।
गुठी जग्गा अतिक्रमणको विषय उठाउँदा गोली हानियो : मनोज शाह
जनकपुरक्षेत्रलगायत देशभरका गुठीका सम्पत्ति तथा जग्गा अतिक्रमणमा परेको तथा दुरुपयोग बढेको र यस्ता जग्गामा संस्थानकै पदाधिकारी र माफियाको संलग्नताको विषय उठाउँदा मनोजकुमार शाह (क्रान्तिकारी)ले आफू पटकपटक आक्रमणमा परेको बताएका छन् । राजनीतिक नियुक्तिबाट संस्थानको बोर्ड सदस्य बनेका शाह पटकपटक आक्रमणमा परेका थिए । उनलाई जानकी मन्दिरका महन्थलगायतको संलग्नतामा नै आक्रमण गरेको छानबिनका क्रममा खुलेको थियो ।
– जग्गा बेचेर बैंक ब्यालेन्स र मोजमस्ती
– ट्रस्ट बनाएर जग्गा संरक्षण गर्ने मन्त्रिपरिषद्को निर्णय अलपत्र
– अदालतको आदेश पालना भएन
देशभरका गुठी जग्गाको अतिक्रमण हुनुमा कोको दोषी छन् ?
यसमा संस्थानकै कमजोरी बढी देखिन्छ । संस्थानले सुरुवातदेखि नै आफ्नो उद्देश्यअनुरूप काम गर्न सकेको छैन । जग्गा अतिक्रमण हुनुमा संस्थानकै जिम्मेवार पदाधिकारीसमेत दोषी छन् । यसका साथै सम्बन्धित अन्य निकायसमेतले आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन् । यसका अतिरिक्त मन्दिरका महन्थ, मठाधीश तथा पुजारीसमेतको दोष रहेको छ । उनीहरूले आफ्नो निजी सम्पत्ति जसरी नै गुठीका सम्पत्ति मासिरहेका छन् ।
कसले र किन ग¥यो आक्रमण ?
मैले विभिन्न समयमा गुठी संस्थानले गुठी संरक्षण गर्न नसकेको, जानकी मन्दिरमा महन्थहरूले जग्गा अतिक्रमण गर्ने गरेको विषय लगातार उठाउँदै आएको थिएँ । यसबीचमा धेरैपटक धम्की आए १० माघ २०६२ साल ३ कात्तिक २०६३ सालमा भौतिक आक्रमण गरिएको थियो भने ३ माघ २०६४ सालमा गोली हानी हत्या गर्ने प्रयास गरिएको थियो ।
यस सम्बन्धमा नेपाल पत्रकार महासंघ तथा अन्तर्राष्ट्रिय छानबिन समितिले समेत यस प्रकरणमा मन्दिरका महन्थलगायतको संलग्नता पुष्टि गर्दै प्रतिवेदन पेस गरिसकेका छन् । यद्यपि, कारबाही भने हुन सकेन । आक्रमणबाट घाइते भएपछि उपचारका लागि मैले ६५ लाख मूल्यबराबरको १० बिघा जग्गा बिक्री गरेको छु । अझै मेरो घर बैंक धितोमा छ ।
कारबाही नहुँदाको परिणाम के देखियो ?
कारबाही नहुँदा दण्डहीनता मौलायो । जग्गा अतिक्रमणमा अपराधिक मनोवृतिले प्रश्रय पायो । उनीहरूलाई कारबाही नगरिँदा अनियमितता सार्वजनिक गर्ने उमा सिंह, अरुण सिंघानिया, आकाश त्यागी, राकेश नेपालीलगाायत पत्रकारको हत्या गरियो । त्यसैको परिणामस्वरूप ममाथि समेत २०६४ सालमा सांघातिक हमला गरिएको थियो । सार्वजनिक रूपमा जानकी मन्दिरका मठाधीश रामतपेश्वर दास, उनका भान्जा तथा तत्कालीन न्यायाधीश र प्रहरी प्रमुखले मोटो रकम लिएर मुद्दा टुंग्याए ।
तत्कालीन अवस्थामा भएका छानबिनबाट प्राप्त प्रतिवेदनलाई सार्वजनिक गर्ने हो भने कैयौं पत्रकार, राजनीतिज्ञ तथा महन्थहरूको मुहार उदांगो हुन जान्छ । प्रशासनले यी हत्याका फाइललाई फेरि पल्टाउने साहस गर्नुपर्छ । राजधानी दैनिकबाट