काठमाडौं, ७ असार । सामुदायीक वन फडानी गरी काठ तस्करी गर्ने गिरोहसँग मिलेमतोमा तस्करीमा समलग्न भएका नेपाल प्रहरीका निरिक्षक नृप बहादुर बोहरा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा बोहोराले भ्रष्टाचार गरेको भन्दै अख्तियारले बोहोरालाई कुल ६१ हजार २० रुपैयाँ विगोसहित मुद्दा दायर गरेको हो ।
ईलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक बोहरासमेतले अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयहरुले काठ पक्राउ गरी नियन्त्रणमा लिएका थिए । बोहोराले तस्करीलाई ढाकछोप गर्न सामुदायीक वन उपभोक्ता समितिलाई गैरकानुनी दबाव दिएको समेत पुष्टि भएको अख्तियारले जनाएको छ ।
त्यस्तै अख्तियारले केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्र बहादुर साउद विरुद्ध समेत ६१ हजार २० रुपैयाँ विगो दाबी सहित मुद्दा दायर गरेको थ । उनले इलाका प्रहरी कार्यालय विपीनगरलाई विना छुटपुर्जी दिने निर्णय गरेको पाइएको छ ।
आफ्नो समुदाय मातहतको सरकारी सम्पत्तिको रुपमा रहेको सार्वजनिक वन हिनामिना गरेको साथै प्रहरी निरिक्षक बोहराले गरेको कसुर लुकाउन भूमिकासमेत खेलेकोले उनलाई समेत भ्रष्टाचार मुद्दा दायर भएको हो ।