काठमाडौंका एसएसपी अशोक सिंहको ‘पैसाको द्वन्द’मा फसाइए डिएसपी दीपक खड्का !

दियो पोस्ट  

काठमाडौं, २३ जेठ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्का कारबाहीमा परेका छन् । उनलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, टेकु तानिएको र उनीमाथि कारबाही भएको परिसरकै एसपी रमेश बस्नेतले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।


डिएसपी खड्कामाथि आर्थिक प्रलोभनमा परेरको गम्भिर आरोप लगाइएको छ ।


उनीमाथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिने गरेको आरोप लगाइएको छ । काठमाडौं परिसरले उनको विषयमा पटक पटक गुनासो आएको प्रचार समेत गरेको छ । तर, कोरोना महामारीका कारण वर्षदिनदेखि बन्दा बन्दी र निषेधाज्ञाले थला परेको ठमेल बजार यतिबेला सुनसान छ । नागरिकलाई घरबाट हिँड्न समेत निषेध गरेको अवस्थामा ठमेलमा रात्रीकालिन व्यावसाय चल्ने अवस्था छैन । तर, प्रहरी परिसरले यस्तो अवस्थामा डिएसपी खड्कामाथि डान्स बारबाट आर्थिक लाभ लिएको आरोप लगाएको छ ।

त्यसो त प्रहरी कर्मचारी वा कुनै पनि सरकारी कर्मचारीमाथि भ्रष्टाचार वा अनियमितता सम्बन्धि छानबीन गर्ने र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छ । प्रहरीले आन्तरिक छानबीन पनि गर्न सक्छ ।

तर, छानबीन चल्दै गर्दा कसैलाई अपराधी करार गरिनु गलत रहेको प्रहरीकै हाकिमहरु बताउँछन् । स्रोतका अनुसार पेसागत हिसाबले असल र इमानदार रहेका डिएसपी खड्कामाथि प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले ‘रिसिइबी’ साँधेका हुन् । ठमेलका बारहरुमा तत्कालिन काठमाडौं प्रहरीको एसपी (ट्वाइसी) रहँदा आफै असुली गर्न पुग्ने हालका काठमाडौंका एसएसपी सिंहले डिएसपी खड्कामाथि ‘बदला’ लिएको प्रहरीकै एक उच्च कर्मचारी बताउँछन् ।


काठमाडौं प्रहरी प्रमुख सिंहले ठमेल क्षेत्रबाट एकमुष्ट रकम अशुली गर्न चाहेको र उनको कदममा डिएसपी खड्का बाधक बनेका कारण उनीमाथि कारबाहीको डन्डा चलाइएको स्रोतले बतायो ।

‘कुनै प्रहरी कर्मचारीले अनियमितता नै गरेका हुन् भनेपनि त्यसको हेर्ने निकाय भनेको अख्तियार हो,’ अवकाश प्राप्त एक प्रहरी अधिकारी भन्छन्,‘आन्तरिक छानबीन पनि हुन्छ । तर, छानबीन हुँदा हुँदै अपराधी करार गरेर प्रहरीले अभियुक्त बनाउनु गलत हो ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बसन्त कुँवरले आन्तरिक छानबीनकै क्रममा कुनै पनि प्रहरी कर्मचारीको विषयमा सार्वजनिक सञ्चार माध्यममा प्रचार गरिनु गलत भएको बताए ।


‘यो बिल्कुल गलत कुरा हो । कसैको विषयमा छानबीन हुन्छ । त्यो स्वभाविक हो । तर, बाहिर आउनु बिल्कुल गलत कुरा भयो,’ कुँवरले दियोपोस्टसँग भने,‘यो बारेमा मलाई पनि थाहा छैन । दिउँसो एउटा न्युज देखेको थिएँ ।’


उनका अनुसार आफूभन्दा एक तहमाथिको निकायले छानबीन गर्नु गलत नभएको उनको जिकिर थियो ।

मैले कारबाही सिफारिस गरेका होइन : अशोक सिंह
यसैबीच काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले आफूले डिएसपी खड्कामाथि कारबाही सिफारिस गरेको नभई महानगरीय प्रहरी आयुक्तको कार्यालयले कारबाही गरेको बताए । ‘म यसमा समलग्न छैन । मैले कारबाही गरेको पनि होइन,’ दियोपोस्टसँग सम्पर्कमा उनले भने,‘यो समाचारले मेरो चरित्र हत्या भएको छ ।’

समाचार लेख्दा विचार गर्नुस् : एसपी रमेश बस्नेत


यता काठमाडौं परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले भने समाचार लेख्दा ध्यान दिन भन्दै धम्कीपूर्ण भाषामा सञ्चारकर्मीलाई धम्काएका छन् । उनले मेट्रो प्रहरीले डिएसपी खड्कामाथि कारबाही थालेको बताए । यद्धपी खड्कामाथि कारबाही गरिएको विषयमा भने उनै बस्नेतले सञ्चार माध्यममा सार्वजनिक गरेका थिए ।