काठमाडौं, ६ असार । कोरोना महामारीबीच सरकारले लागु गरेको निषेधाज्ञामा केही व्यापारिक संस्थाहरुले अनलाइनबाटै व्यावसाय सञ्चालन गर्दै आएका छन् । ‘टेकवे सेवा’को नाममा शुरु भएको व्यापारमा लुट मच्चाएको पाइएको छ ।
बहुराष्ट्रिय कम्पनि केएफसीले अनलाइनबाट गरेको कारोबारमा सर्भिस चार्ज (सेला शुल्क)को नाममा १० प्रतिशत अतिरिक्त शुल्क असुल्दै आएको पाइएको हो ।
मूल्य अभिवृद्धिकर नियमावली २०५३ को दफा १४ख मा करसहितको मूल्य उल्लेख गर्नुपर्ने बारे लेखिएको छ । यस बुँदामा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेस्टुरेन्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा करसहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’
यसको अर्थ कुनै रेस्टुरेन्टमा गएर कसैले खाजा खान्छ भने थप भ्याट वा सेवा शुल्क तिर्नुपर्ने छैन । अर्थात् चिकन ममको शुल्क ३ सय रुपियाँको राखिएको छ भने त्यो भ्याट र सर्भिस चार्जसहितको मूल्य हुनुपर्नेछ । त्यसो भएपछि ग्राहकले मेनुमा लेखिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्दैन ।
तर, नियामक निकायको लापरबाहीका कारण निषेधाज्ञाको समयमा सञ्चालित रेष्टुरेन्टले मात्रै होइन अन्य समयमा सञ्चालित रेष्टुरेन्टले समेत यस्तो फर्जी शुल्क असुल्दै आएको छ ।
सामान्य नागरिकलाई सडकमा हिँड्न समेत बन्देज लगाएर भारतीय कम्पनि केएफसीलाई भने खुलमखुल्ला यसरी ठगी गर्न दिएको भन्दै आलोचना शुरु भएको छ ।