जीवनका अन्तिम दिनहरूमा महात्मा गान्धी आफ्नै मृत्युको पूर्वानुमान यसरी गरिरहेका थिए कि लाग्थ्यो उनी स्वयम् आफ्नो हत्याको षड्यन्त्रमा संलग्न छन्।
सन् १९४८ को ज्यानुअरी २० मा उनको हत्याको पहिलो प्रयास भएपछि १० दिनसम्म उनले आफ्नो कुराकानी, पत्र र प्रार्थनासभाका भाषणहरूमा कम्तीमा १४ पटक आफ्नो मृत्युको बारेमा उल्लेख गरे।
“यदि कसैले मलाई निकै नजिकबाट गोली हान्छ र त्यस समय मैले मनमा रामनाम जपेर मुस्कुराउँदै गोलीको सामना गर्छु भने म बधाईको पात्र छु,” उनले ज्यानुअरी २१ मा भनेका थिए।
त्यसको भोलिपल्ट उनले भने, “यदि मसँग त्यसो भयो भने त्यो मेरो सौभाग्य हुनेछ।”
सन् १९४८ को ज्यानुअरी २९ को साँझ इन्दिरा गान्धी, जवाहरलाल नेहरूकी बहिनी कृष्णा हठी सिंह, नयन तारा पण्डित र पद्मा नायडु गान्धीलाई भेट्न बिरला हाउस गए।
क्याथरिन फ्र्याङ्कले इन्दिरा गान्धीको जीवनीमा लेखेकी छन्, “घरबाट निक्लिनुअघि इन्दिरा गान्धीलाई उनका मालीले कपालमा सिउरिनका लागि चमेली फूलको एउटा गुच्छा दिए। इन्दिराले त्यो फूल गान्धीलाई दिने निधो गरिन्। बिरला हाउसमा उनीहरू चौरमा बसेका थिए, गान्धी त्यहाँ एउटा कुर्मीमा बसेर घाम तापिरहेका थिए।”
उनी लेख्छिन्, “चार वर्षीय राजीव केही बेर त पुतलीको पछाडि दौडिए तर फेरि गान्धीको खुट्टा छेउमा आएर बसे र इन्दिराले ल्याएको चमेलीको फूल उनको औँलाहरूबीच राख्न थाले।”
गान्धीले हाँस्दै राजीवको कान समाते र भने, “यसो नगर। मरेको व्यक्तिको खुट्टामा मात्रै यसरी फूल राखिन्छ।”
तस्बिर स्रोत,GANDHI FILM FOUNDATION
सन् १९४८, ज्यानुअरी ३०। गान्धी सधैँ जसो बिहानको साढे ३ बजे उठे र बिहानको प्रार्थनामा सहभागी भए।
त्यसपछि उनले मह र कागती मिसाएको पानी पिए र फेरि सुत्न गए। उठेर व्रजकृष्णलाई आफ्नो मालिस गर्न लगाए र बिहानै आएको पत्रिका पढे।
त्यसपछि उनले काङ्ग्रेसको भविष्यबारे आफूले लेखेको टिपोटमा केही परिवर्तन गरे अनि बङ्गाली भाषा सिक्ने क्रमलाई निरन्तरता दिए।
नास्तामा उनले उसिनेको तरकारी, बाख्राको दूध, मुला, गोलभेँडा र सुन्तलाको जुस पिए।
उता सहरको अर्को कुनामा बिहानको ७ बजे पुरानो दिल्ली रेलवे स्टेशनको ६ नम्बरको प्रतीक्षालयमा जब नारायण आप्टे र विष्णु करकरे पुगे, त्यति बेलासम्म नाथुराम गोडसे उठिसकेका थिए।
डोमिनिक ल्यापिएर र ल्यारी कोलिनले आफ्नो किताब ‘फ्रीडम एट मिडनाइट’मा लेखेका छन्, “कसैले नाथुरामलाई बुर्का लगाएर गान्धीको प्रार्थना सभामा जाने सुझाव दिएको थियो। त्यसका लागि उनले बजारबाट एउटा ठूलो बुर्का किनेका पनि थिए। त्यसलाई लगाएर हेर्दा नाथुरामलालाई यो जुक्तिले काम गर्दैन भन्ने लाग्यो। उनको हात खुकुलो बुर्काको पट्टीमा अल्झिराख्थ्यो।”
“उनले भनेका थिएः यो लगाएर त म आफ्नो पेस्तोल नै निकाल्न सक्दिनँ र म महिलाको भेषमा पक्राउ परेँ भने जीवनभर बदनामी हुनेछ। अन्त्यमा आप्टेले भनेः कहिलेकाहीँ सीधा तरिका नै सबैभन्दा ठिक हुन्छ।”
“उनले नाथुरामलाई फौजीको जस्तो स्लेटी सुट लगाउन अह्राए जुन त्यस समय निकै लोकप्रिय थियो। उनीहरू बजार गए र नाथुरामका लागि उक्त कपडा किनेर ल्याए। नाथुराम गोडसेले आफ्नो पेस्तोल निकाले र त्यसमा सातवटा गोली भरे।”
तस्बिर स्रोत,ROLI BOOKS
अर्कोतर्फ डर्बनका महात्मा गान्धीका पुराना साथी रुस्तम सोराबजी सपरिवार उनलाई भेट्न आएका थिए। त्यसपछि उनले दिल्लीका मुस्लिम नेता मौलाना हिफजुर रहमान र अहमद सइदलाई भेटे। उनले उनीहरूको सहमतिबिना आफू वर्धा नजाने आश्वासन दिए।
दिउँसो केही शरणार्थी काङ्ग्रेस नेता र एक श्रीलङ्काली कूटनीतिज्ञ गान्धीलाई भेट्न आए। उनलाई भेट्नेमा इतिहासकार राधाकुमुद मुखर्जी पनि थिए।
गान्धीलाई भेट्न आउने सबैभन्दा विशेष व्यक्ति थिए सरदार पटेल। उनी दिउँसो साढे १ त्यहाँ पुगेका थिए।
गोडसे र उनका साथीहरू भने समय कटाउन प्रतीक्षालयमा गए।
तस्बिर स्रोत,PRAMOD KAPOOR
डोमिनिक ल्यापिएर र ल्यारी कोलिन लेख्छन्, “नाथुरामले भने – मलाई बदम खान मन लागिरहेको छ। आप्टे बदम किन्न गए, तर भेटेनन्। बदमको साटो कागजी बदाम वा काजु ल्याइदिने प्रस्ताव राखे।”
“तर नाथुरामले भने- मलाई बदम नै खान मन छ। आप्टे फेरि बाहिर निस्किए। केही छिनमा उनी बदमको ठूलो थैलो लिएर आए। नाथुराम छिटोछिटो खान थाले।”
त्यतिकैमा हिँड्ने समय भयो।
हिँड्दै गर्दा गोडसे र उनका साथीहरूले पहिले बिरला मन्दिर जाने तय गरे। करकरे र आप्टे त्यहाँ भगवान्को दर्शन र प्रार्थना गर्न चाहन्थे। गोडसेलाई भने धर्मकर्मको कुरामा खासै चासो थिएन।
मनोहर मुलगाँवकर आफ्नो किताब ‘द म्यान हु किल्ड गान्धी’ मा लेख्छन्,”करकरेले केही भन्न कोसिस गर्दा उनको आवाज काँप्न थाल्थ्यो। आप्टे उनलाई संयमित रहने सल्लाह दिन्थे। गोडसे मन्दिरको पछिल्लो भागमा गएर आप्टे र करकरेको बाटो हेर्न थाले। उनीहरू जुत्ता खोलेर मन्दिरभित्र गए र त्यहाँ रहेको पीतलको घण्टा बजाए।”
“जब उनीहरू बाहिर निस्किए तब नाथुराम गोडसे शिवको मूर्तिको छेउमा उभिएका थिए। उनले आफूले पनि दर्शन गरेको बताए।”
त्यहाँबाट नाथुराम गोडसेले बिरला हाउस जानका लागि एउटा टाँगा लिए। उनी निस्किएको पाँच मिनेटपछि आप्टे र करकरे पनि अर्को टाँगा लिएर बिरला हाउसतर्फ सोझिए।
पछि करकरेले डोमिनिक र ल्यारीसँग भने, “बिरला हाउसको प्रवेशद्वारमा कुनै समस्या नआएपछि हामीले राहतको सास फेर्यौँ।”
“त्यहाँ पहिलेभन्दा धेरै सुरक्षाकर्मीहरू तैनाथ थिए, तर भित्र गइरहेका मानिसलाई कसैले छानबिन गरेका थिएनन्। बगैँचामा पुगेपछि हामीले नाथुरामलाई भिडमा घुलमिल गरिरहेको देख्यौँ। हामी पनि उनको दुई छेउमा गएर उभियौँ। तर न उसले हामीलाई हेर्यो न हामीले उसलाई हेर्यौँ।”
तस्बिर स्रोत,ROLI BOOKS
उता गान्धी र पटेलबीच पटेल र नेहरूबीच बढ्दो मतभेदबारे चर्चा भइरहेको थियो। उक्त चर्चा यति गम्भीर भयो कि गान्धीलाई प्रार्थनासभामा जान ढिला भइसकेको थिए।
त्यस बहसको क्रममा गान्धीले आफ्नो बानीअनुसार धागो कातिरहेका थिए। साँझ सवा ५ बजे उनी बिरला हाउसबाट निस्किएर प्रार्थनासभातर्फ निस्किए।
ढिलो भएकाले उनी छोटो बाटो गए।
रामचन्द्र गुहाले आफ्नो किताब ‘गान्धी द यीयर्स द्याट चेन्ज्ड द वर्ल्ड’मा लेख्छन्, “गान्धी प्रार्थनास्थलका लागि बनाइएको मञ्चको सिँढीनजिकै पुगेका थिए। त्यतिबेला खाकीको लुगा लगाएका नाथुराम गोडसे उनीतिर गए। उनको इसारा गान्धीको खुट्टा छुन खोजेको जस्तो देखिन्थ्यो।”
“आभाले उनलाई रोक्ने कोसिस गरिन् तर उनले आभालाई धक्का दिए र उनको हातबाट गान्धीको नोटबुक, थुकदानी र माला भुइँमा खस्यो। त्यतिबेलै गोडसेले आफ्नो पेस्तोल निकाले र गान्धीमाथि ‘पोइन्ट ब्याक’ रेन्जमा लगातार तीन पटक प्रहार गरे। तीमध्ये एक गोली गान्धीको छातीमा र बाँकी दुइटा गोली पेटमा लाग्यो।”
“गान्धी भुइँमा लडे र उनको मुखबाट ‘हे राम…’ निस्कियो। रगत लतपतिएको धोतीमा मनुले गान्धीको घडी देखिन्। त्यतिबेला घडीले ५ बजेर १७ मिनेट देखाएको थियो। गान्धी लड्नेबित्तिकै सुशीला नयरका एक सहयोगी डाक्टरले उनको टाउको आफ्नो काखमा राखेका थिए।”
रामचन्द्र गुहा लेख्छन्, “उनी मरिसकेका थिएनन्। उनको शरीर तातो थियो र उनको आँखा आधा बन्द थिए। गान्धीलाई मृत घोषित गर्ने हिम्मत थिएन ती डाक्टरसँग। तर भित्रभित्रै उनले गान्धी जीवित नरहेको महसुस गरिसकेका थिए।”
तस्बिर स्रोत,WILLIAM COLLINS (UK) SIMON & SCHUSTER (US)
“गान्धीलाई भेटेर सरदार पटेलले आफ्नो घर पुग्नासाथ आक्रमणबारे खबर पाए। उनी तुरुन्तै आफ्नी छोरी मणि बेनसँग पुनः बिरला हाउस पुगे। उनले गान्धी जिउँदै छन् कि भन्ने आशाका साथ उनको नाडी छामे। त्यहाँ उपस्थित एक डाक्टर बीपी भार्गवले त्यतिन्जेल गान्धीको मृत्यु भएको १० मिनेट भइसकेको घोषणा गरे।”
“ठिक ६ बजे भारतवासीले आफूलाई स्वतन्त्रता दिलाउने साधारण र कोमल स्वभावका मानिसले यस संसार त्यागेको थाहा पाए। समाचारमा हत्या गर्ने व्यक्ति हिन्दू भएको कुरा बारम्बार दोहोर्याइएको थियो।”
नाथुराम गोडसेका भाइ गोपाल गोडसेले आफ्नो किताब ‘गान्धी वध र मे’मा लेखेका छन्, “गोली हान्नासाथ पेस्तोल बोकेको हात माथि उठाएर नाथुराम चिच्याएका थिएः ‘पुलिस पुलिस…।’ तर आधा मिनेट बित्दा पनि कोही उनको नजिक आएनन्।”
“त्यतिबेला वायुसेनाका एक अधिकारी र उनका आँखा जुधे। आँखाको इसारामा गोडसेले ती अधिकारीलाई आफू नजिक आउन लगाए। ती सेना नाथुराम नजिक गए र ठडिएको उनको नाडी समाए। त्यसपछि केही मानिसले उनलाई घेरे। केहीले हात समेत हाले।”
“एक उत्तेजित व्यक्तिले पेस्तोल नाथुरामतर्फ सोझ्याउँदै ‘म तँलाई मारिदिन्छु’ भने। नाथुरामले जबाफमा ती मानिसलाई पेस्तोल सम्हाल्न समेत नआउने प्रतीत भएको बताए। त्यसको सेफ्टीचेक खुला छ। थोरै धक्का लाग्यो भने तेरो हातबाट अरू कसैको ज्यान जान्छ।”
गोपाल गोडसे लेख्छन्, “उसको कुरा त्यहीँ उभिएका एक प्रहरीले बुझे। उनले तुरुन्तै पेस्तोल आफ्नो हातमा लिए र सेफ्टीचेक बन्द गरेर उक्त बन्दुकलाई आफ्नो गोजीमा राखे। त्यही बेला केही मानिसले नाथुराममाथि लाठी प्रहार गरे। उनको टाउकोबाट रगत बग्न थाल्यो।”
गान्धीको निधनको खबर सुनेपछि घटनास्थलमा सबैभन्दा पहिले पुग्ने व्यक्तिमध्ये एक थिए मौलाना आजाद र देवदास गान्धी। त्यसको केही बेरपछि नेहरू, पटेल, माउन्टबेटन, अरू मन्त्री र सेनाध्यक्ष जेनरल राय बूचर त्यहाँ पुगेका थिए।
तस्बिर स्रोत,NANA GODSE
अति महत्त्वपूर्ण व्यक्तिको आगमनका बीच हिन्दुस्तान टाइम्स पत्रिकाका एक संवाददाता तुगलक रोड प्रहरी कार्यालय पुगे।
सन् १९४८ को ज्यानुअरीमा प्रकाशित एक रिपोर्टमा उनले लेखे, “गान्धीको हत्यारा नाथुरामलाई बत्ती नभएको एउटा अँध्यारो कोठामा बन्द गरिएको थियो। उनको टाउकोबाट रगत बगिरहेको थियो र उनको मुहारको बायाँ भागमा रगत लतपतिएको थियो। म कोठामा पस्दा ब हत्यारा आफ्नो ठाउँबाट उठ्यो। उसलाई मैले घटनाबारे प्रश्न अघि सार्दा उसले ‘मैले जे गरेँ त्यसबारे मलाई कुनै पीडा छैन’ भन्यो। बाहिर निस्किएपछि मैले प्रहरीसँग सोधेको थिएः नाथुरामसँग पेस्तोलबाहेक अरू के थियो? प्रहरीले जबाफ दिए- ४०० रुपैयाँ।”
राति २ बजे मानिसको भिड केही कम भएपछि गान्धीको पार्थिव शरीरलाई बिरला हाउसभित्र लगियो। उनको शवलाई नुहाइदिने जिम्मेवारी व्रजकृष्ण चाँदीवालालाई दिइएको थियो।
चाँदीवाला पुरानो दिल्लीका निवासी थिए। सन् १९१९ मा पहिलो पटक गान्धीलाई आफ्नो सेन्ट स्टीफेस कलेजमा बोल्दै गरेको सुनेपछि उनी गान्धीको सेवामा खटेका थिए।
व्रजकृष्ण चाँदीवालाले रगतले भिजेको कपडा खोलिदिए र उनका छोरा देवदास गान्धीको जिम्मा लगाए। ती कपडामा उनको त्यो पछ्यौरा पनि थियो, त्यसमा गोलीले तीनवटा प्वाल पारेका थिए। रगतका कारण उनको लुगा शरीरमै टाँसिएको थियो।
पछि व्रजकृष्णले आफ्नो किताब ‘एट द फीट अफ गान्धी’मा लेखे,”बापुको निर्जीव शरीर काठको फल्याकमा राखिएको थियो। मैले उनको शरीर नुहाइदिनका लागि लोटामा चिसो पानी भरेँ र खन्याउन तम्सिएँ।”
“मेरो हात अचानक आफैँ रोकियो। बापुले कहिल्यै पनि चिसो पानीले स्नान गरेका थिएनन्। त्यस बेला रातको २ बजेको थियो। ज्यानुअरीको राति एकदम जाडो थियो। मैले कहाँ त्यति चिसो पानी उहाँको शरीरमा खन्याउन सक्थेँ र?”
“मैले आफ्नो आँसु रोक्न सकिनँ तर अन्त्यमा मैले त्यही चिसो पानीले बापुलाई नुहाइदिएँ। मैले उनको शरीर पुछिदिएँ र मैले उनको पछिल्लो जन्मदिनको अवसरमा उनका लागि कातिदिएको लुगा लगाइदिएँ। मैले उनको घाँटीमा कपासको माला लगाइदिएँ र मनुले निधारमा तिलक लगाइ दिइन्।”
भोलिपल्ट गान्धीको शव खुला गाडीमा राखिएको थियो। सरदार पटेल खुट्टाको छेउमा र नेहरू टाउकोनजिकै बसिरहेका थिए। उक्त गाडीमा गान्धीका पुराना सहयोगी राजकुमारी अमृत कौर र जेबी कृपलानी पनि थिए।
तस्बिर स्रोत,ROLI BOOKS
बिरला हाउसबाट गान्धीको शवयात्राले पहिले बायाँ मोड लियो र त्यसपछि दायाँ मोडिएर इन्डिया गेटतर्फ अघि बढ्यो। सायद पहिलो पटक मानिसहरू इन्डिया गेटको पर्खालमा चढेको देखियो। उनीहरू महात्मा गान्धीको शवयात्रा हेरिरहेका थिए।
माउन्टबेटनका निजी सचिव एलन क्याम्प्बेल जोनसनले आफ्नो पुस्तक ‘मिशन विद माउन्टबेटन’मा लेखेका छन्, “भारतबाट ब्रिटिश शासन हटाउनमा सबैभन्दा ठूलो भूमिका निर्वाह गर्ने महात्मा गान्धीलाई उनको मृत्युमा भारतका जनताबाट अकल्पनीय श्रद्धाञ्जलि मिलिरहेको थियो।”
गान्धीको शवयात्रा दिल्ली गेटनजिक पुग्दा तीनवटा डकोटा विमानले उडानको उचाइ कम गरेर राष्ट्रपितालाई सलामी दिए। महात्मा गान्धीको अन्त्येष्टिमा कम्तीमा १५ लाख मानिस सहभागी भएको अनुमान छ।
प्रख्यात फोटोग्राफर मार्गरेट बर्क ह्वाइटले आफ्नो लाइका क्यामराको लेन्समा फोकस गर्दा उनलाई आफूले पृथ्वीमा सबैभन्दा ठूलो जमघट खिचिरहेकी छु भन्ने लाग्यो।
अन्त्येष्टि स्थलभन्दा २५० मिटर अगाडि शव बोकेको गाडीको इन्जिन बन्द गरिएको थियो। भारतीय सेना, वायुसेना र जलसेनाका २५० जना सैनिकले चारैतिरबाट डोरीको सहायतामा गान्धीको चितामा आगो लगाउने ठाउँसम्म गाडी तानेका थिए।
त्यस दिन आकाशवाणीका विश्लेषक मेल्भिल डिमेलोले लगातार सात घण्टा गान्धीको अन्त्येष्टिको प्रत्यक्ष विवरण सुनाए।
अन्त्येष्टि सकिएपछि उनी आफ्नो थकाइ मार्न भ्यानमा बसिरहेका थिए। त्यतिबेला उनले एउटा हातले आफ्नो भ्यानको छतको कुना समात्ने प्रयास गरिरहेका एक व्यक्ति देखे। नियालेर हेर्दा उनले ती व्यक्ति प्रधानमन्त्री जवाहरलाल नेहरू भएको ठम्याए।
उनले भनेका थिए, “मैले आफ्नो हात दिएर उनलाई आफ्नो भ्यानमा तानेँ। नेहरूले मलाई गभर्नर जेनरललाई देखेका छौ भनेर सोधे। उनी आधा घण्टाअघि त्यहाँबाट निस्किएको जानकारी दिएँ। त्यसपछि उनले सरदार पटेलको बारेमा सोधे। मैले उनी पनि गभर्नर जेनरल निस्किएको केही मिनेटपछि गएको बताएँ। त्यतिबेला मलाई थाहा भयो कि त्यस अस्तव्यस्ततामा मानिसहरू आफ्नो साथीबाट छुट्टिएका थिए।”
तस्बिर स्रोत,THE DAWN
गान्धीको अन्त्येष्टिमा १५ मन चन्दन, चार मन घ्यू र एक मन नरिवल प्रयोग गरिएको थियो। साँझको समय गान्धीको चिताबाट आगोको राप रातो भए निस्किँदा त्यहाँ उपस्थित लाखौँ मानिसहरूले एकै स्वरमा भनेका थिएः ‘महात्मा गान्धी अमर रहून्।’
बर्नार्ड शले गान्धीलाई श्रद्धाञ्जलि अर्पण गर्दै भने, “उनको अन्त्येष्टिले राम्रो हुनु कति जोखिमपूर्ण छ भन्ने देखाउँछ।”
पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाहले आफ्नो शोकसन्देशमा लेखेका थिए, “उनी हिन्दू समुदायका महान् पुरुषमध्ये एक थिए।”
पाकिस्तान टाइम्सले लेखेको थियो, “गान्धी भारतीय उपमहाद्वीपको सबैभन्दा रुचाइएका र सम्मानित राजनीतिक नेता थिए।”
पाकिस्तान टाइम्सका तत्कालीन सम्पादक फैज अहमद फैजले लेखेका थिए, “गान्धीको मृत्यु भारतका मानिसका साथै पाकिस्तानका मानिसको लागि पनि दुःखद खबर हो।” यो समाचार बीबीसीका लागि रेहान फजलले लेखेका हुन् ।