सेन्चुरी बैंकसँग शंकाष्पद ‘साँठगाँठ’ गर्दा निक्षेप तथा कर्जा सुरक्षण कोषका सिइओ हटाइए !

दियो पोस्ट  

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुन भण्डारी अर्थ मन्त्रालय तानिएका छन् । कोषको अर्बौं रकम निजी बैंकसँगको मिलेमतोमा राज्यलाई हानी पुर्याउने गरि सस्तो ब्याजमा लगानी गरेको पाइएपछि उनलाई मन्त्रालयले कारबाही स्वरुप फिर्ता बोलाएको हो ।

‘उहाँ अस्ति जेठ १२ गतेदेखि नै जानु भइसक्यो । उहाँ अहिले मन्त्रालयको प्रशासन विभागमा हुनुहुन्छ,’ कोषका एक अधिकारीले भने,‘अब त नयाँ सिइओ छनौट प्रक्रिया नै शुरु भइसक्यो ।’

खुला प्रतिष्पर्धाबाट सिइओ छनौट गर्नुपर्ने भएपनि अर्थमन्त्री जनार्दन शर्माले आफू निकट भण्डारीलाई शक्तिकै आडमा मन्त्रालयबाट काजमा कोषको सिइओ बनाएर खटाएका थिए । कोषको सिइओको रुपमा पुगेका भण्डारीले कोषको अर्बौं रकम निजी बैंकमा सस्तो ब्याजमा राखेर राज्यलाई करोडौँ घाटा पुर्याएका थिए । कोषको करिब ६० करोड रुपैयाँ रकम कोषकै लेखा विभाग प्रमुख विक्रान्त आचार्यसँगको मिलेमतोमा अग्रिम घुस लिएर सेन्चुरी बैंकमा जम्मा गरेको विषयमा दियोपोस्टले समाचार सार्वजनिक गरेको थियो ।

भण्डारी र आचार्यकै मिलेमतोमा फिक्स डिपोजिटमा राख्नुपर्ने यतिका रकम वार्षिक ३ प्रतिशत ब्याजमा राखिएको थियो । फिक्समा राखेको भए राज्यलाई वार्षिक १२ प्रतिशतसम्म ब्याज आम्दानी हुने थियो । तर, भण्डारी र आचार्यको मिलेमतोमा ३ प्रतिशत ब्याजमा उक्त रकम सेन्चुरी बैंकमा राखिएको थियो ।

हाल भण्डारी मन्त्रालय तानिएपछि कार्यबाहक सिइओको जिम्मेवारी उषा पौडेललाई दिइएको छ ।