रुपन्देहीको रोहिणी खोलामा रेलिङ्ग भत्काएर बस खोलामा खस्यो, ९ जनाको मृत्यु २३ जना घाइते

दियो पोस्ट  

भैरहवा । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको  पत्रकार राधेश्याम विश्वकर्माले जनाएका छन् ।


जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरि अस्पताल पुर्याउने काम भएको बताए ।

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघिपनि पटक–पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुन सक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

सम्बन्धित खबर