एकीकृत समाजवादीबाट मन्त्री बन्ने सुचीमा पुरुष कमरेड मात्रै, महिला सांसद आक्रोशित !

diyopost.com
दियो पोस्ट  सोमबार, जेठ २३, २०७९ | ९:५३:५९

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरुको नामावली सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको नामावाली अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री, भवानी खापुङलाई स्वास्थ्य मन्त्री, मेटमणी चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने तयारी छ । तर, यसरी मन्त्री बन्नेहरुको सुचीमा एकजना पनि महिलाको नाम नदेखेपछि समाजवादी निकट महिला सांसद आक्रोशित बनेका छन् ।

समाजवादीकी नेतृ तथा सांसद लक्ष्मी चौधरीले मन्त्री छान्दा पुरुष मात्रै छनौट गरिएको भन्दै आक्रोश पोखेकी छिन् ।

‘कमरेड ! पार्टीमा केन्द्रीय पदाधिकारी, विभाग, संसदीय समितिको नेतृत्व गरेका एकसे एक महिला नेता हुनुहुन्छ । अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरु पनि पार्टी केन्द्रमा हुनुहुन्छ,’ उनले भनेकी छिन्,‘जिम्मेवादरी पाएका बखत सशक्त भूमिका देखाएका छन् । पार्टी पंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्विलो छ तर, मन्त्री छान्दा किन पुरुष मात्र ?’

 

उनले भूगोल समावेशीता समेत नमिलाएर पार्टीले मन्त्री छानेको आरोप लगाएकी छिन् । ‘न भूगोल मिलेको छ । न समावेशीता । यसैगरि समाजवाद आउने कसरी ? पुनश्च व्यक्तिगतरुपमा मन्त्री बन्ने दौडमा थिइनँ र छैन । तर, सगर्व भन्छु, मन्त्री बन्न योग्य महिला नेताको हाम्रो पार्टीमा कमि छैन,’ उनले लेखेकी छिन् ।

 

सम्बन्धित खबर