कहिलेकाँही त लाग्छ, राज्यले नै राष्ट्रिय सुन्दरी प्रतियोगिता घोषणा गर्छ : डा. मिना पौडेल [अन्तर्वार्ता]

दियो पोस्ट  

नेपालमा सौन्दर्य प्रतियोगिताको विभिन्न पाटोबारे लामो समय देखि विवाद र बहस हुँदै आएको छ । १६ वर्षिय एक किशोरीले सौन्दर्य प्रतियोगितामा भाग लिने क्रममा बलात्कार जस्तो जघन्य अपराधबाट पीडित हुनुपरेको घटना सार्वजनिक भएपछि फेरी सौन्दर्य प्रतियोगिताबारे बहस शुरु भएको छ । कतिपय यही प्रतियोगितामै सहभागी भएकाहरु समेत यतिबेला खुलेर विरोध गर्न थालेका छन् । सौन्दर्य प्रतियोगिताको समाजशास्त्र के हो ? यसबारे दियोपोस्टका लागि फूलमतीले समाजशास्त्री तथा लेखक डा. मिना पौडेलसँग अन्तर्वार्ता लिएकी छिन् ।

 

सुन्दरी प्रतियोगिताको इतिहास के हो ?

यसमा दुई थरीका इतिहास छन् । एउटा सबभन्दा पहिला सुन्दरी प्रतियोगिता १८५० तिर युरोपबाट शुरु भयो । त्यसपछि अफ्रिका गयो अनि पुँजीवाद र उपनिवेशवादले सौन्दर्यलाई अवधारणाको रुपमा विकास गर्दै गयो । किनभने पुँजीवाद र औपनिवेशिकवाद सँगसँगै जाँदा त्यतिबेला उनीहरु ( औपनिवेशिक शाशकहरु)लाई बजार चाहियो । बजार त चाहियो, बजार सँगसँगै त्यसलाई प्रवर्द्धन गर्ने , नाफा लिने माध्यमहरु पनि चाहियो । त्यो माध्यम मध्य एउटा सुन्दरी प्रतियोगिता बन्न पुग्यो । किनकि यसले महिलालाई वस्तुकरण गर्ने मात्रै नभएर अरु किसिमका वस्तुहरुलाई प्रवर्द्धन गर्न पनि महिलालाई प्रयोग गरियो । त्यसपछि आज भन्दा डेढ सय वर्ष अगाडि अमेरिकामा पहिलो विश्व सुन्दरी प्रतियोगिता भएको छ । त्यसले सुन्दरी प्रतियोगितालाई संस्थागत रुप दिँदै अझै व्यवस्थित बनाउन सहयोग गर्यो ।

अमेरिकामा सुन्दरी प्रतियोगिता भएपछि सबैले त्यसको नक्कल गरे । अमेरिकामा विश्व सुन्दरी प्रतियोगिता भनेर गरियो जसले विश्वलाई नै जर्बजस्ती समेट्यो । त्यसैले यो दुई अढाइ सय बर्ष जतिको इतिहास हो । माथि भने जस्तै औपनिवेशिक शासनहरु विस्तार हुँदै गएपछि यिनीहरुले सुरुमा सेता महिलाबाट सुन्दरी प्रतियोगिता शुरु गरे । पछि अफ्रिकामा यसको विरोध पनि भयो । यो दोस्रो नारीवादी आन्दोलन आएपछि १९५०–१९७० को बीचमा महिला मात्रै होइन काला महिला–सेता महिला, युरोपका महिला– धनी देशका महिला–गरिब देशका महिला भनेर पनि त्यसलाई खण्डिकरण गरियो । त्यो खण्डिकरणले काला महिला कस्तो हुनुपर्छ भन्ने रुप पस्कियो ।

औपनिवेशिक शासकले के गर्यो भने काला महिलाहरुको बीचमा श्वेत महिलाहरुलाई पनि राखिदियो । किनकि महिला कस्तो हुनुपर्छ ? सुन्दरता के हो ? कस्तो जिउडाल बनाउनुपर्छ ? जिउ अनुसारको लुगा कस्तो हुने भनेर ‘काला महिलाहरु तिमीहरुले सेता महिलाहरुबाट सिक’ भनेर भनेपछि अफ्रिकामा यसको विरोध भयोे । यसको ईतिहास लामो छ । यसले महिलालाई मात्र नभएर महिला भित्रको रङभेद, जातियता, उमेर त्यसपछि वर्ग । वर्ग मुख्य कुरा पनि हो । सौन्दर्य प्रतियोगितामा कुन वर्गको महिला हुन्छन्, र उनीहरुलाई प्रयोग गरेर कुन वर्गको व्यापार विस्तार गरिन्छ भन्ने कुरा पनि प्रष्ट छ । पुँजीवादी व्यवस्था भित्र पनि अझै निकृष्ट, बजारिया, दलाल पुँजीवादीलाई प्रमोट गर्ने , शृङ्गार उद्योगका सामानहरुको प्रचार प्रसार, कपडा उद्योग र फेसन डिजाइनरहरुलाई यसले प्रमोट गर्छ तर पुस्तक, राम्रा खानेकुराहरुको प्रमोट यसले गर्दैन ।

सुन्दरी प्रतियोगितालाई नारीवादीहरुले ‘सेकेन्ड वेभ’ देखि नै आलोचना गर्न थालेका थिए । मुलरुपमा अश्वेत ‘फेमिनिस्ट’ नारीवादीहरु त्यसपछि जो औपनिवेशिक शासनका विरुद्धमा थिए उनीहरुले पनि आलोचना गर्न थाले र त्यहाँ भित्र रहेका खराब कुराहरुलाई बाहिर ल्याउन खोजे । नारीवादीहरुले नै सुन्दरी प्रतियोगिताको आलोचना गर्न शुरु गरेका थिए । त्यसका साथै युरोपमा मुख्यगरी समाजवादी महिलाहरुले र पुँजीवादी चिन्तन भएका नारीवादीहरुले पनि विरोध गरे । पुँजीवादी नारीवाद भित्र पनि दुई धार छ । एउटा एकदमै परम्परावादी, धर्ममा आधारित अझै त्यसलाई पुँजीवाद भित्रको सामन्तवाद भन्न सकिन्छ । दक्षिणपन्थी नारीवादीहरुले यसको सर्मथन गरे । महिलाहरुलाई तिमीहरुको आत्मविश्वास बढाउने हो, तिमीहरुको प्रगति हुने हो भनेर जर्बजस्ती महिलाहरुलाई सहभागी गराए ।

दोस्रो पुँजीवाद भित्रका पनि केही प्रगतिशिल महिलाहरुले महिलाको स्वतन्त्रता, महिलाको अस्तित्वका कुरा महिलाको आफ्नै पहिचान हुनुपर्छ भनेर आलेचनात्मक रुपले हेर्न थाले । अब उनीहरु पुँजीवादी नै भएपछि बजारलाई प्रवद्र्धन त गर्छन् नै तर पनि त्यहाँ भित्र रहेको शोषण, उत्पीडन, अन्याय, विभेदका साथै यसमा रहेका सबै विकृतिहरुलाई हटाएर मात्रै सुन्दरी प्रतियोगिता गर्नुपर्छ भनेर पुँजीवादी व्यवस्था भित्र रहेका महिलाहरुले कुरा उठाए । अब समाजवादी र क्रान्तिकारी महिलाहरुले त पहिल्यै देखि यसको विरोध गर्दै आइरहेका छन् । यसरी सुन्दरी प्रतियोगिताको विकास हुदाँहुदै सत्तरी असीको दशकदेखि यो एशियामा आउन थाल्यो । औपनिवेशिक शाशन जता जता गयो त्यतै त्यतै यो पनि भित्रियो । असीको दशकमा यो उदारवादी पुँजीवाद बेस्सरी फस्टायो त्यसपछि एसियामा एकदमै आक्रमक रुपमा सुन्दरी प्रतियोगिता फैलिन थाल्यो । किनभने पुँजीवादले अमेरिका र युरोपमा उत्पादन गरेको सामानको बजार एसियामा जसरी विस्तार हुन थाल्यो यो पनि सँगसँगै बिस्तार भयो ।

उत्पादन सामाग्रीलाई प्रवर्द्धन गर्न पनि सुन्दरी प्रतियोगिता गर्न थाले र सुन्दरीहरु चाहियो । त्यसपछि सुन्दरीलाइ एउटा सामानको राजदुत बनाइदिने, त्यसको प्रमुख प्रवद्र्धनकर्ता बनाउने, र विभिन्न देशमा प्रचारको लागि पठाउने गरियो । अहिले १९८० पछि दक्षिण एसियामा खुल्ला अर्थनीति आयो र जसरी १९९० देखि यो फस्टायो त्यसपछि भारतमा आएर विश्व सुन्दरी प्रतियोगिता भयो । बैंगलोरमा यो प्रतियोगिताको विरोध पनि भयो । यसरी विकसित हुँदै नेपालमा पनि सुन्दरी प्रतियोगिता आइपुग्यो । पहिलो पटक सन् १९९३/१९९४ तिर नेपालमा सुन्दरी प्रतियोगिता भयो । रुबी राणा पहिलो नेपाल सुन्दरी हुँ भनेर भन्नुहुन्छ । र यसरी नेपालमा पनि यो भित्रियो । नेपालमा पनि १९८५/१९८६ मा उदार अर्थनीति भएपछि र बहुदलिय व्यवस्था आएपछि त उर्बर भूमि नै भयो । किनभने विदेशी सामानहरु नेपाल आउन थाले र नेपालमै पनि उत्पादन शुरु भयो । त्यसपछि त्यसको प्रमोट गरेर नाफा त छिट्टै कमाउनु पर्यो । नाफा कमाउन, पुँजीवादी हौं भन्न, बजार प्रवर्धन गर्न, विश्व रङ्गमञ्चमा चिनाउन पनि नेपालले यो माध्यमको रुपमा प्रयोग गर्यो । २०४६ साल भन्दा अगाडि त नेपाल खुल्ला थिएन त्यति विश्वले चिनेको थिएन औपचारिक रुपमा चिने पनि । त्यसैले नेपालले पनि सुन्दरी प्रतियोगितालाई माध्यम बनायो ।

सुन्दरी प्रतियोगिताको प्रचारप्रसारमा सञ्चार माध्यमले पनि भूमिका खेल्यो । पञ्चायतकालमा सञ्चार माध्यम सिमित थिए, त्यति व्यावसायिक पनि थिएनन् । संचार माध्यमहरु सरकार नियन्त्रित थिए । बहुदलपछि सञ्चार क्षेत्र जसरी नेपालमा फस्टायो त्यसले पनि काम पायो । यता बजार पनि फस्टायो । विदेशी र स्वदेशी उत्पादनहरु पनि बढे । त्यसलाई प्रवर्द्धन पनि गर्नुपर्यो अनि यो उपभोक्तावाद संस्कृतिको पनि विकास भयो । त्यसपछि मान्छेहरुको घरघरमा पुर्याउन सञ्चार माध्यम पनि फस्टायो । यसरी नेपालमा यो प्रतियोगिता संस्थागत भयो । अहिले युवतीको मात्रै नभएर टिनब्युटी, एसईई ब्युटी, त्यसका साथै अहिले त नर्सरी ब्युटी पनि शुरु भयो । सुन्दरी प्रतियोगिताले सबभन्दा धेरै हाम्रो संस्कृतिलाई आक्रमण गरेको छ । नेपालको सबै संस्कृतिहरु राम्रा त छैनन् तर त्यहाँ भित्र रहेको खराब कुरालाई फाल्नुको सट्टा थप विकृतिहरु आए । यसरी यो संस्थागत भयो । कहिलेकाँही त लाग्छ, राज्यले नै अब राष्ट्रिय सुन्दरी प्रतियोगिताको आयोजना भनेर घोषणा गर्छ ।

कतिपयले भन्छन्, सुन्दरी प्रतियोगिता केबल शरीरको नापतौल होईन् यसमा त ट्यालेन्टको कुरा पनि हुन्छ । यसप्रति तपाईंको धारणा के हो ?

यसमा त ट्यालेन्टको कुरा नै छैन नि । यो नितान्त बाह्य रुप रङलाई हेरेर शरीरको नापतौल गरेर हुने प्रतियोगिता हो । त्यसैले हामी यो विषयमा प्रष्ट हुन जरुरी छ । यसमा त महिलाको टाउको देखि खुट्टासम्म एक÷एक जाँच हुन्छ । तपाईंको नितम्ब कति छ, तपाईंको कम्मर कति छ र यहाँसम्म कि तपाईंको नङ कस्तो छ भनेर पनि नापतौल गरिन्छ ।

तपाईंले भन्नु भएको नापतौलको मापदण्ड कसले निर्धारण गर्छ ?

पुरुषहरुले गर्छन् । र ती पुरुषहरु नाफाखोर व्यापारलाई प्रवद्धन गर्ने खालका हुन्छन् । उनीहरुलाई मूल्यमान्यता, मान्छेको अस्तित्व, स्वभाव, मनोविज्ञान संग कुनै चासो नै हुँदैन । बौद्धिकता, क्षमताको विकास हुन्छ भन्ने जुन कुरा छ त्यो भ्रम मात्रै हो । महिलालाई कसरी पुतली जस्तो बनाएर, झिलिमिली बनाउने र त्यसपछि नाफा कमाउने भन्ने मात्रै सोच्छ सुन्दरी प्रतियोगिता । सुन्दरी प्रतियोगितामा बौद्धिकता, क्षमताको कुरा हुन्छ भनेर एक दुई वटा प्रश्नहरु राखिन्छन् । जसले आयोजकलाई सुरक्षित मात्रै गर्छ । उदाहारणको लागि रुख किन रोप्नुपर्छ ? वातावरण जोगाउन, सडकमा हिड्दा के ख्याल गर्नुपर्छ ? ट्राफिक रुल ख्याल गर्नुपर्छ यस्ता प्रश्नहरुले कुनै बौद्धिक चुनौती दिन्छन् र ? दिँदैनन् । यो त झारा टार्ने काम मात्रै हो । नेपालको राजनीतिक व्यवस्था, अर्थनीति, नेपाली समाज, विकास, अधिकारका कुराहरुमा छलफल भएको छैन तर ती विषयमा छलफल किन नभएको त ? प्राज्ञिक रुपमा अध्ययन गर्नुपर्ने एउटा पनि विषय हुँदैनन् तर रमाइलोको लागि , झारा टार्नका लागि अनावश्यक कुरा बढी हुन्छ । त्यसैले यो बौद्धिकता भन्ने कुरा सुन्दरी प्रतियोगितामा छैन ।

सुन्दरता भनेको के हो ? खासमा यसको अवधारणा कस्तो हुन्छ र यसलाई कसरी व्याख्या गर्ने ?

सुन्दरता हाम्रो बौद्धिकतासंग, सामाजिक दायित्वसंग र आफ्नो जीवन, समाज र दर्शनलाई बुझने चेतनासंग जोडिएको हुन्छ । कस्ता लुगा लगाएको छ ? फाटेको छ, पुरानो छ, नयाँ छ, शारीरिक बनोट कस्तो छ ? तपाईं ८४  व्यञ्जन खानु हुन्छ या लिटो खोले खानु हुन्छ त्यो अर्थपूर्ण विषय नै होईन । हाम्रो सामाजिक दायित्व, चेतना, विचार प्रमुख कुरा हो । समाजलाई परिवर्तन गर्ने, समाजका खराब कुरालाई फाल्न हामीले के गर्छौं ? त्यो मुख्य कुरा हो ।

 महिलाको शरीर नापतौल गरेर सुन्दरी चयन गर्ने यस्ता खालका प्रतियोगिता फस्टाउनुको कारण त पितृसत्ता नै हो तर अहिले तपाईं जुन पुँजीवादी व्यवस्था छ भन्नुहुन्छ, के यो व्यवस्थामा महिला हिंसाको स्वरुपमा केही फरक आएको छ ?

पितृसत्ता हिजो पनि थियो र आज पनि छ । हिजो सामन्ती पितृसत्ता थियो । जसले धर्म संस्कृतिको नाममा लादिने र नितान्त सामन्ती दृष्टिकोणबाट हेरिने पितृसत्ता थियो र त्यो घर भित्र अत्याधिक रुपमा थियो । महिलालाई घर भित्रै राख्ने, हरेक कुरामा बन्देज गर्ने यस्तो खालको सामन्ती पितृसत्ता थियो र त्यो अहिलेसम्म छ । हामीले हेर्दा केही परिवर्तन भएको जस्तो देखिन्छ तर वास्तवमा त्यो छैन । हामीले दैनिक जीवनमा भोगिरहेको कुरा नै हो । यसको स्वरुप फेरिएको हो तर मापदण्ड उस्तै छ । हाल आएर पुँजीवादी पितृसत्ता पनि जोडियो । जसले गर्दा अहिले पितृसत्ता झन खप्टिएको छ । सार्वजनिक स्थलमा, कार्यस्थलमा, राजनीतिक थलोमा पुजीँवादी पितृसत्ताले खेदेको छ र घरमा सामन्तवादी पितृसत्ताको मारमा छन् महिला । अहिले महिला दोहोरो पितृसत्ताको मारमा छन् । यो पितृसत्ता जेलिएर झन् जटिल बनेको छ ।

सदियौं देखि पितृसत्ता भत्काउनुपर्छ भनेर भन्दै आउनु भएको छ । तर यसको विकल्प के हो त ? के सुन्दरी प्रतियोगिताको अन्त्य नै अन्तिम विकल्प हो वा व्यवस्था परिवर्तन ?

सुन्दरी प्रतियोगिता हाम्रो राजनीतक व्यवस्थासंग जोडिएको विषय हो । यसको अन्त्य गर्न यो व्यवस्थाको नै विकल्प खोज्नुपर्छ । यदि व्यवस्था नै परिवर्तन गर्न सम्भव छैन भने सुन्दरी प्रतियोगिता नभनेर त्यसको विकल्पमा बौद्धिक प्रतियोगिता पनि भन्न सक्छौं । समाजमा लुकेर रहेका प्रतिभा, क्षमता र बौद्धिकतालाई अगाडि ल्याएर समाजलाई आलोचनात्मक चेत दिएर सचेत बनाउन सकिन्छ तर अहिलेको यो व्यवस्था भित्र यो सम्भव नै छैन । सुन्दरता प्रतिको धारणा र यसको अन्त्यका लागि व्यवस्था नै परिवर्तन गर्न जरुरी छ ।

तपाईंले भनेको वैकल्पिक व्यवस्था कस्तो हो ?

मैले पूर्व सोभियत गणराज्यहरुमा बसेर पनि काम गरेँ । त्यहाँ समाजवाद ढलेपछि पुँजीवाद छ तर त्यहाँ निकै कम विषालु पुँजीवादी व्यवस्था छ । म राजनीतिज्ञ नभएकोले ठ्याक्कै यस्तै व्यवस्था हुनुपर्छ भन्न त सक्दिनँ तर यस्ता व्यवस्थाहरु पनि छन् जहाँ पुँजीवाद भएपनि कम विषालु छन् । जस्तै ताजिकस्तानमा पनि पुँजीवादी व्यवस्था छ भनिन्छ तर कम विषालु छ । हिजोको सोभियत पालाको जस्तो समाजवाद त होइन त्यहाँ तर अहिलेको अमेरिका र बेलायत जस्तो बजार नियन्त्रण गर्ने पुँजीवाद पनि होइन् ।

नेपाली समाज सामन्तवाद र पुँजीवादको बीचमा रुमलिएको छ । त्यसैले समाज संक्रमणकालको भुमरीमा छ । अब यो समाजमा महिलाको विषय, रङभेद, जातियता, पहिचानको हक, सिमान्तकृतको हकमा जुन छिद्रहरु छन् त्यसलाई सम्बोधन गर्नका निमित्त हामीले यही राजनीतिक व्यवस्था भित्र पनि पहल गर्नुपर्छ तर व्यवस्था परिवर्तन नगरी सम्भव देखिदैन ।

सम्बन्धित खबर