चलचित्र पत्रकार संघकै पदाधिकारीद्वारा कान्तिपुरकी पत्रकारमाथि यौन दुर्व्यवहार

दियो पोस्ट  

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल मार्फत विभिन्न क्षेत्रमा हुने गरेको यौन दुर्व्यावहारको घटना सार्वजनिक हुने क्रम बढेको छ । सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि भएको बलात्कार घटना सार्वजनिक भएपछि त्यस घटनामा समलग्न अभियुक्त पक्राउ परिसकेका छन् ।

अन्य घटनाका अभियुक्त पनि पक्राउ पर्ने क्रम बढ्दो छ । बलात्कार र यौन दुर्व्यावहारको घटनाबारे खबरदारी गर्ने एक सञ्चारकर्मी नै यौन दुर्व्यवहारको शिकार भएको पाइएको छ । आफूलाई नेपालको एक नम्बर दैनिक पत्रिका दाबी गर्दै आएको कान्तिपुर दैनिकमा कार्यरत एक पत्रकारले आफूमाथि यौन दुर्व्यहार भएको घटना सार्वजनिक गरेकी हुन् ।

चलचित्र पत्रकार संघले कान्तिपुर दैनिकमा कार्यरत पत्रकार रिना मोक्तानलाई चलचित्र पत्रकारिता पुरस्कार दिने घोषणा गरेको थियो । तर, उक्त पुरस्कार वितरण कार्यक्रमको आयोजक समितिकै एक पदाधिकारीले आफूलाई ५ वर्षअघि यौन दुर्व्यावहार गरेकाले उक्त पुरस्कार नलिने घोषणा गरेकी हुन् ।

‘गत जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ घोषणा गरेको थियो, पुरस्कार पाउनेको सूचीमा मेरो नाम पनि परेकाले खुसी भएँ । मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु । त्यही संस्थाका अन्य पदाधिकारीको साथ–सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ,’ रिनाले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘्महिलालाई आफू यौन हिंसा पीडित हो भनेर परिचय दिन पक्कै सहज छैन । तर आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्ट्याटस लेखेको हुँ । यो दुर्व्यवहारबारे मैले बोल्नुको अर्थ व्यक्ति र संस्थालक्षित भन्दा पनि यौन दुर्व्यवहारका प्रत्येक घटनाले मलाई जस्तै थुप्रै महिलाको आत्मविश्वासमा ठेस पुगेको छ, विशेष गरी चलचित्र क्षेत्रमा, र यस्तो प्रवृत्तिबारे अब खुलेर बोल्ने वातावरण हामीले बनाउनुपर्छ ।’