काठमाडौं । भिजिट भिषाको नाममा नेपालबाट दुबईमा मानव तस्करी गर्दै आएको त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीजको धन्दाबारे दियोपोस्ट डटकमले पहिलो पटक खबर प्रकाशन गरेको थियो ।
दुबईस्थित कार्यालय रहेको त्रिनेत्रका मालिक कोमलराज उपाध्यायले दियोपोस्ट डटकमका प्रधानसम्पादकलाई प्रहरीका डिआइजी लगाएर पक्राउ गर्ने धम्की दिएका थिए ।
तर, संचारकर्मीलाई प्रहरी लगाएर धम्की दिने उपाध्यायको समुहनै प्रहरीको फन्दामा परेको छ । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले उपाध्यायकी पत्नी रञ्जना ढकाल प्याकुरेल सहित सबै अभियुक्तलाई पक्राउ गरेको छ ।
दियोपोस्टमा समाचार प्रकाशित भएपछि केही महिना अघि नै दुबई प्रहरीले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायलाई पक्राउ गरी छानबिन थालेको थियो । हाल सिआइबीले कोमलको धन्दामा सहयोग गर्ने विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो ।
ब्युरोले राइनास नगरपालिका–३ का मधुविलास बाँस्कोटा, दूधकुण्ड नगरपालिका–८, सोलुखुम्बुका होमबहादुर खड्का, कागेश्वरी मनोहरा नगरपालिका–७, काठमाडौंका सन्तोष प्याकुरेल र रञ्जना ढकाल प्याकुरेल र देवदह नगरपालिका–५ रूपन्देहीका राजु भन्ने खुमबहादुर बस्याललाई पक्राउ गरी छानबिन अगाडि बढाएको हो । रञ्जना कोमल उपाध्यायकी पत्नी हुन् । रञ्जनाकै नाममा पीडितहरुले करोडौं रुपैयाँ जम्मा गरेका थिए ।
सिआइबीका प्रवक्ता एसपी श्याम कुमार महतोका अनुसार उपाध्यायको समुहले कम्तिमा ७६ जनाबाट २ करोड ४३ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको छ । उनीहरुले नेपाली युवालाई मासिक ३ हजार दिराम तलब दिलाइदिने प्रलोभन पारेर भिजिट भिषामा सयौँ युवालाई दुबई पुर्याएका थिए । प्रतिव्यक्ति साढे ३ लाखदेखि ८ लाख रुपैयाँसम्म असुली गरेको खुलेको थियो । तिनकुनेस्थित द लिंक नामक म्यानपावर मार्फत युवाहरुलाई रोजगारीको प्रलोभन देखाउने तर भिजिट भिषामा दुबई लैजाने गरेको अनुसन्धानमा खुलेको छ । यो विषयमा दियोपोस्ट डटकमले पहिले नै खबर लेखेको थियो ।