काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभाग कर्मचारीका लागि आकर्षक गन्तव्य हो । राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्न सहसचिवहरुबीच रस्साकस्सी चल्ने गर्छ । त्यसैले राजश्व अनुसन्धान विभागको महानिर्देशक छोटो समयमै परिवर्तन हुने गरेको छ । तर, पछिल्लो समय विभागको महानिर्देशक नियुक्तीमा माफियाहरुले चलखेल गर्न थालेका छन् ।
राजश्व छली जस्तो गम्भिर अपराधमा समलग्नहरु नै विभागको डिजी (महानिर्देशक) परिवर्तनमा चलखेल गर्छन् । राजश्व अनुसन्धान विभागमा यसअघि सहकारी विभागको रजिष्टार समेत रहेका झलकराम अधिकारीलाई ल्याइने भएको छ ।
यसअघि ठूला करदाता कार्यालयमा कर अधिकृत पदमा रहँदा अधिकारीले सबैजसो राजश्व छलीको मुद्दा कमजोर बनाएर आर्थिक लाभ लिने गरेको स्रोतको दाबी छ । बैंक तथा वित्तिय संस्थासँग विशेष सम्बन्ध बनाएका उनकै कारण ईन्भेष्टमेन्ट बैंकले अर्बौं करछली गर्ने सु अवसर पाएको उनी निकटस्थहरु बताउँछन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनलाई प्रधानमन्त्री देउवाका सालो भुषण राणाको सिफारिसमा विभागमा ल्याइँदैछ । ‘उहाँलाई विभागको डिजी बनाउन नेपाल चीन सिमा नाका सिन्धुपाल्चोकदेखि नेपाल भारत सिमा नाकाबाट अवैध रुपमा तस्करी गर्दै आएको ठूलो गिरोह समेत समलग्न छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,‘उनीहरुले नै प्रधानमन्त्रीलाई अधिकारीलाई ल्याउँदा अनुकुल हुने सिफारिस गरेपछि उहाँको सरुवा भएको हो ।’
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अधिकारी केहीदिन अघि नै प्रधानमन्त्री कार्यालयमा हाजिर भइसकेका छन् । उनी सोमबारदेखि नै राजश्व अनुसन्धान विभागमा हाजिर हुने स्रोतले जनाएको छ ।