अधिवक्ता भावना झासँग अन्तर्वार्ता : ‘हदम्याद हट्यो भने महिलाको काँधमा राखेर बन्दुक पड्काउँछन्’

दियो पोस्ट  

 

फूलमती

काठमाडौं । मुलुकमा पछिल्लो महिला हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । सामाजिक संजालदेखि सडकसम्म घटनाबारे बहस छलफल चलिरहेको छ । बलात्कार जस्ता जघन्य घटनाका अभियुक्तलाई फाँसी दिनुपर्ने माग समेत एकातिर उठ्ने गरेको छ भने अर्कोतिर बलात्कार जस्ता जघन्य घटनामा हदम्याद हटाउनुपर्ने माग उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हदम्यादको विषयलाई सम्बोधन गरेका थिए । यो विषय सडकहुँदै संसदसम्म प्रवेश गरेको छ । अधिवक्ता तथा महिला अधिकारकर्मी भावना झा बलात्कार तथा यौनजन्य हिंसामा हदम्याद राख्नुपर्ने बताउँछिन् ।

हदम्याद भनेको के हो ?

कुनै पनि घटना घटिसकेपछि कति समयसम्म त्यो घटनाको लागि न्यायिक निकायहरुमा पुगेर न्याय माग्न सकिन्छ भन्ने समयको दायरा हो ।

 

हदम्याद हट्यो भने के पीडितले न्याय पाँउछन ?

मैले पटक – पटक भनेकी छु । पल साहको मुद्दा हदम्याद भित्रको केस हो तर न्याय पाउनु पर्ने महिला उल्टै होइस्टाइल भएको छ । के त्यसलाई न्याय पायो भन्न सकिन्छ ? पीडितहरू होइस्टाइल हुनुको धेरै कारणहरु हुन्छन् । एउटै कारण हुनै सक्दैन । सामाजिक, आर्थीक, , राजनीतिक प्रभाव र भविष्यको चिन्ता लगायत धेरै कुरा हुन्छन् । हदम्याद भित्रैको घटना निर्मला प्रकरण हेरौं त ? के त्यो हदम्याद भित्रको घटना होईन ? हो , तर खै उनले न्याय पाइन् । भागिरथी भट्टको घटना पनि हदम्याद भित्रै आएको थियो तर त्यो घटनामा पनि पीडिटले न्याय पाएन । त्यसैले यो हदम्यादको विषय नै होइन् । हदम्याद नहनु भनेको कानुनको अस्तित्व सकिनु हो । हदम्यादले नै हदम्यादलाई कानुन बनाएको हो । नत्र त छाडापन आउँदैन र ? अवश्य आउछ । हरम्याद हट्यो भने महिलाको काँधमा बन्दुक राखेर धेरैले पडकाउन खोज्छन । प्रतिसोधको लागि झन् महिलाको प्रयोग हुन्छ ।

त्यसो भए हदम्याद   हटाउन आवश्यक छैन ?

एकदम आवश्यक छैन् । हदम्याद खारेज गर्न आवश्यक छैन तर कुनै पनि किसिमको जघन्य अपराध यदि घटिहाल्यो भने त्यसको लागि एउटा स्पेसल प्रोभिजन हुनुपर्छ । जस्तै सविधान संसोधनका केहि प्रोभिजन छन् । त्यस्तै हदम्यादमा हामीले त्यो राख्न सकिन्छ । त्यसले समय सिमाभन्दा बाहिर पनि जघन्य अपराध भयो भने अपराधीलाई सजाय दिन सकिन्छ ।

 

अहिले धेरै यौन हिंसाका घटनाहरु आइरहेका छन् ? यति धेरै घटनाहरु घट्नुको कारण के हो ?

पहिला पनि यौन हिंसाका घटनाहरु नभएका होइनन्, हुन्थे र अहिले पनि हुन्छन् । महिला हिंसाका घटनाहरुमा  हाइप्रोफाइल पुरुष समलग्न छन् भने महिलाहरुले बोल्ने आँट गर्दैनन् । किनकि उनीहरुको विरुद्धमा समाज खडा हुन्छ । सामान्यतया बलात्कार भयो भने कसैले पुरुषलाई दोष दिन्छ ? दिँदैन । केही दिन आन्दोलन हुन्छ र सेलाउन पुग्छ । आन्दोलन मात्रै समाधान होइन । हाइप्रोफाइलका पुरुष संलग्न महिला पीडित भएका घटनाहरुमा महिलाहरुले मुस्किलले  आवाज उठाउन थालेपछि  न्यायका लागि पहल भयो ।, अपराधी समातियो । त्यो देखेर पीडितको मनमा आत्मविश्वास जाग्यो । घरपरिवार, समाजले नसुने पनि सोसलमिडियाले सुनिदियो । त्यसकारण यति धेरै घटनाहरु एकाएक बाहिर आएका हुन् र पहिला पनि नआएका भने होइनन् ।

 

 

 

महिलाहरु यौन हिंसा र बलात्कारको शिकार हुदाँ उसको साथै घरको इज्जत गयो भनिन्छ । यसलाई तपाईं कसरी हेर्नु हुन्छ ?

 

महिलाको यौनिकतामा चरित्र लुकेको हुन्छ र ? घरको पुरुषले सोच्नु पर्ने हो कि मैले के गल्ती गरेँ । जसले गल्ती गर्छ उसले सजाय पाउने हो र डर उसलाई हुनुपर्ने हो । महिलाले किन डरको भारी बोक्नुपर्ने ? महिलाको इज्जत कसरी जान्छ र ? मलाई लाग्छ, हाम्रो शरीरको अन्य ठाउँ जस्तै हात, खुट्टामा चोट लाग्यो भने नर्मल लिन्छौ । आज चोट लाग्यो भोलि निको हुन्छ भन्छौं त्यसरी नै यसलाई हेर्ने हो भने इज्जत जाने भन्ने कुरा नै आउँदैन । बलात्कारलाई घाउको रुपमा लिने हो भने यो इज्जत र चरित्रसँग जोडिने कुरा नै आउँदैन । के खुट्टा फ्याक्चर भयो भने त्यो संग कुनै चरित्रका कुराहरु जोडिन्छ र ? ठ्याक्कै त्यस्तै हो ।

महिला जन्मने बित्तिकै बाउ, दाजुभाइको इज्जत , विवाह पश्चात् श्रीमान, ससुराको र बुढेसकालमा छोरा, नातीको इज्जत कहिलेसम्म बन्ने हो ? महिलाको क्यारेकटर पुरुष भित्र लुकेको हुन्छ र ? यो महिला स्वयंले पनि बुझ्न जरुरी छ ।

अपराधीलाई फाँसी र मृत्युदण्ड दिनुपर्ने माग पनि उठिरहन्छन् यो माग कत्तिको जायज छ ?

अपराधीलाई हाम्रो कानुनले सजाय तोकेको छ । न्याचुरल जस्टिसलाई हेर्ने हो भने त्यसले मान्छेलाई नै सिध्याएर हुँदैन भन्छ । फाँसी दिने हो भने त एउटालाई दिएर हुँदैन । कति जनालाई फाँसी दिने ? के समाजमा एउटा मात्रै अपराधी छ ? पक्कै छैन । जस्तै शरीरमा रोग लाग्यो भने एउटा रोगको औषधि खाइन्छ । तर समाजको समस्या त्यस्तो हुँदैन । एउटा समस्याको लागि फाँसी दिने हो भने अर्को समस्या आउँछ । भारतलाई हेर्ने हो भने त्यहाँ फाँसीको सजाय छ तर त्यहाँ झन् धेरै रेपका घटनाहरु घटेका छन् । निर्भया प्रकरण हेर्न सकिन्छ । कस्तो निर्मम थियो । त्यसैले अपराधीलाई फाँसी दिएर समस्या समाधान हुँदैन । सामाजिक प्रशिक्षण जरुरी छ । हामीले पूरुष बालकलाई जुन किसिमले सामाजिक प्रशिक्षण दिन्छौँ त्यसमा परिवर्तन जरुरी छ । । नैतिक शिक्षा, सामाजिक शिक्षा , सामाजिकिकरण, परिवार के हो ?, समाज प्रतिको दायित्व, व्यक्तिहरुसँग कस्तो सम्बन्ध राख्ने सबैकुरा परिवारले ‘मेल बेवी बोइ’ (पुरुष बच्चा)लाई बुझाउनुपर्छ । मृत्युदण्डले यस्ता घटना न्युनिकरण हुँदैन ।

 

नारीवादीहरुले हाम्रो मौजुदा कानुनले पितृसत्तालाई संरक्षण गरेको भनिरहेका छन् । यो कानुनबाट महिलाले न्याय पाउने र पितृसत्ताको अन्त्य हुने संभावना छ ?

पितृसत्तात्मक व्यवस्था कुनै इँटा, सिमेन्टले बनेको भित्ता होइन । यो २/४ जना मिलेर भत्काउन सकिन्छ भन्ने विषय होइन । पितृसत्ता भनेको सदीयौंदेखि चल्दै आएको विषय हो र यो रातारात ‘ओभरनाइट’ चेन्ज हुने विषय पनि होइन । पहिलेभन्दा केही परिवर्तन भएको छ । र यो भोलि पनि परिवर्तन हुनेछ । पितृसत्तात्मक संरचना तत्कालै परिवर्तन हुँदैन । यो सोसल चेन्ज अन्तर्गत पर्छ । बिस्तारै यसको लेयर हट्दै गएको छ र अझै हट्दै जानेछ । हामीले यो लेयरलाई एकदम छिटो फाल्नेबारे सोच्नुपर्छ । एकैपटक कुनै कपडाको रङ्ग फाले जस्तो यो फाल्न सकिदैन ।

 

यसको लागि महिला स्वयं अगाडी आउन जरुरी छैन र ?

महिलाको विषय हो । महिला त आउनुपर्छ । मलाई दुख लाग्छ, हरेक घरमा महिलाहरू छन् । महिलाको संख्या नै बढी छ तर महिलाको समस्या पुरुषले केही बुझदैन । महिला सँगसँगै पुरुषले पनि बुझ्ने हो भने समस्या समाधान छिट्टै हुन्छ ।

हरेक क्षेत्रमा महिलालाई पछाडि पारिएको छ । नेतृत्वमा ल्याउन के गर्नुपर्छ ?

हरेक क्षेत्रबाट अगाडि ल्याउन मुख्य कुरा शिक्षामा केन्द्रीत हुनुपर्यो र अर्को नेतृत्व विकास गर्ने कुरालाई पनि ध्यान दिनुपर्छ । नेतृत्व विकास भयो भने महिला हरेक क्षेत्रमा अगाडि बढ्न सक्छन् । एउटा शिक्षा त भयो र अर्को सुरक्षाको विषय छ । महिला आँफूले म सक्षम छु र आफ्नो सुरक्षा गर्न सक्छु भन्ने वातावरण जबसम्म बन्दैन तबसम्म हामी निरिह र दयाको पात्र मात्रै बन्छौ । त्यसैले महिलालाई नेतृत्वमा ल्याउन सबभन्दा पहिला शिक्षा आवश्यक छ । सँगसँगै प्रशिक्षण पनि आवश्यक छ । “तँ छोरी होस्् भन्ने टयाग सबभन्दा पहिला फाल्न जरुरी छ । छोरा र छोरीलाई हुर्काउने तरिका एकदम गलत छ । छोरीलाई एउटा आवरण भित्र अथवा दायरामा राख्ने र छोरालाई त्यो आवरणभन्दा बाहिर राखिन्छ । यदि छोराछोरी दुबैको स्कुलिङ एउटै भयो भने, म केटा हो म सुपेरियर उ इन्फेरियर भन्ने फिल नै गर्दैन ।

 

के शिक्षाले मात्रै परिवर्तन संभव छ ?

पक्कैपनि हुँदैन । सबभन्दा पहिला महिला स्थायी सत्तामा आउनुपर्छ । जसलाई हामी (Bureaucracy ) कर्मचारीतन्त्र भन्छौं । र अर्को राजनीतिमा आउनुपर्छ । जबसम्म महिला यो दुई फिल्डमा आँउदैनन् तबसम्म परिवर्तन सम्भव छैन् ।