छाउगोठमा जलेकी धनालाई युट्युवरले सोधे,‘जल्दा कस्तो अनुभव हुँदो रहेछ ?’

diyopost.com
दियो पोस्ट  शनिबार, जेठ २८, २०७९ | १३:२९:४५

फूलमती

काठमाडौं । घटना २०५७ सालको हो । त्यो दिन दैलेखको आठबिस नगरपालिका ६ घरभएकी धना परियारकी आमा नामसरा महिनावरी भइन् । सदुरुपश्चिमका अन्य जिल्लामा जस्तै दैलेखमा पनि रजश्वला भएकी महिलालाई छाउगोठमा राखिन्छ । उनकी आमा नामसरालाई पनि छाउगोठमा राखियो । यता ३ वर्षिय धना उनी आमा खोज्दै छाउगोठ तिर गइन् ।

तर, रजश्वला भएकी आमा घाँस दाउराका लागि जंगल जानुपर्ने भयो । धना र उनको भाइलाई राम्रोसँग बस्न भन्दै छाउगोठमै छाडेर आमा नामसरा घाँस दाउराका लागि जंगलतिर लागिन् । केहीबेरमै अचानक छाउगोठमा आगो लाग्यो । ३ वर्षीय धना र उनको भाई छाउगोठबाट बाहिर निस्कन सक्ने कुरै भएन । छाउगोठ संगै उनको शरीरको केही भाग आगोले जलायो । ३ वर्षिय धनाले आफ्नो भाईलाई जोगाइन् । तर, आफू जलिन् । आगोले उनको हात, अनुहार र कपाल सबै जलाइदियो । त्यही दिनले उनलाई अन्धकारको दुनियाँमा धकेलिदियो ।

‘म तीन वर्षकी थिँए र भाइ दुई वर्षको । मलाई याद छैन, गोठमा कसरी आगो लाग्यो,’ ती दिन सम्झँदै धना भन्छिन्,‘आगो निभाउने बेलासम्म आगोले मेरो शरीरको केही भाग जलाइ सकेको थियो । मेरो दुवै हातका औंलाहरु, टाउकाको केही भाग जल्यो तर भाइलाई जोगाउन भने म सफल भएँ ।’

छाउगोठसँगै आफ्नी छोरी समेत जलेको देखेपछि आमा नामसराले उनलाई अस्पताल लाने कोशिस गरिन् । तर, तगारो बन्यो–पैसा । ‘बुवाले आमालाई कहिल्यै राम्रो व्यवहार गर्नु भएन । हामीलाई वास्ता गर्नु हुँदैनथ्यो,’ धना भन्छिन्,‘आमाले उपचारको लागि पहल त गर्नुभयो तर आर्थिक स्थीतिको कारण उपचार हुन सकेन ।’

 

एकातिर जलेको शरिर अर्कोतिर आफ्नै पिताले गर्ने गर्ने व्यवहारले धनाको बाल मनोविज्ञानमा नुनचुक छर्के सरह भएको थियो । समाजले गर्ने घृणा पनि उस्तै थियो । ‘मेरो जलिरहेको शरीरलाई बुवाले स्विकार्नु भएन् । मेरो छोरी होइन भनेपछि समाजले त झन् घृणा गर्ने नै भयो,’ धना भन्छिन्,‘मलाई स्कुल पढ्नबाट बञ्चित गरियो । तर, पढ्ने भोकले म जबरजस्त स्कुल गएँ ।’

तर, उनी स्कुल जाँदा उनको जलेको शरिरमाथि कुटपीट हुन थाल्यो । कक्षामा नआओस् भनेरै साथीहरुले उनीमाथि कुटपीट गर्न थाले ।

‘शायद मेरो जलिरहेको शरीर त्यतिबेला धेरै डर लाग्दो र कुरुप देखिन्थ्यो,’ धनाको आशंका छ,‘क्लासमा नआअ‍ेस् भनेर मलाई साथीहरु कुट्थे ।’

विद्यालयमा पहिलो अक्षर ‘क’ सिक्न गएकी उनी विभेदको शिकार बन्न पुगिन् । जलेको शरिरमा साथीहरुले लठ्ठीले पिटेको याद उनलाई अझैपनि छ । घृणा, विभेद र कुटाईकैबीच उनले गाउँकै स्कुलबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरिन् । एसएलसीपछि हरेक किशोरीले जस्तै धनाले पनि केही बन्ने सपना देखिन् । कलाकार बन्ने सपनाले उनको मनमा घर गर्यो । उनी सुरिलो भाकामा गित गाउँन सक्थिन् ।

 

उनी त्यही स्वरलाई निखारेर गायीका बन्न चाहन्थिन् । त्यही समाज र गाउँमा बसेर उनले देखेको सपना अधुरो हुनसक्थ्यो । त्यसैले उनी सपनाको शहर आइन् । काठमाडौं । यो शहर उनले सोचे जस्तो थिएन । यो शहरमा महिला कस्तो हुनुपर्छ भन्ने मानक छ । त्यसमाथि कलाकारको शरिरको सुन्दरताको मापक समेत सहर बनिसकेको छ । त्यसैले त यसलाई ग्लामरको दुनियाँ भनिन्छ । यस्तो दुनियाँमा उनी कलाकार बन्ने सपना लिएर आइपुगिन् । तर कहाँ सहज थियो र !

‘म कलाकारिताको दुनियाँमा त आए तर यहाँ मेरो स्वर होइन, शारीरिक बनावटलाई हेरेर मूल्याँकन गरियो,’ धनाले भनिन्,‘अहिले चलिरहेका कलाकारहरुको स्वरको स्केल र मेरो स्केल मिल्छ तर म सुन्दर छैन । त्यसैले मलाई पटकपटक स्टुडियोबाट फर्काइयो ।’

फरक क्षमता भएकी धनाले एकल प्रयासमा केही गित बजारमा ल्याइन् । युट्युवमा सार्वजनिक भएको एउटा गितको बोल छ ‘खुसीको अभाव’ । यो गीतमा धनाले आफ्नै कथालाई आफ्नै स्वर दिएकी छिन् ।
बाल्यकालमा आफूमाथि परेको गहिरो चोटबार उनले शाब्दिक बयान गीतमा गरेकी छिन् ।

कला क्षेत्रकै मान्छेहरुले आफूमाथि गरेको विभेद सहिनसक्नुको छ । कतिपयले उनलाई शरीर छोपेर हिँड्न सुझाव दिन्छन् । ‘मलाई कला क्षेत्रकै मानिसहरुले बुर्का लगाएर हिँड्न सुझाव दिन्छन्,’ धना भन्छिन् ।

 

उनको कथालाई आम सञ्चार माध्यमले समेत विक्रीको बस्तु बनाएको धनाको आरोप छ । लकडाउनको समयमा उनी आर्थीक स्थीतिको कारण केही युट्युवको सहारामा आर्थिक सहयोग लिनुपर्ने अवस्थामा उनी पुगिन् । त्यसै समय हो उनलाई युट्युबले भाइरल बनायो । उनको बारेमा लेख्ने, अन्तवार्ता लिनेहरु उनीसम्म पुग्न थाले । उनको जलेको शरीरलाई र उनका दुखहरुलाई मात्रै मीडियाले देखायो ।

उनलाई युट्युबरहरुले सोधे,‘तपाईं कसरी जल्नु पर्यो ? जल्दा कस्तो अनुभव भयो ? पत्रकारीताको आवरणमा सोधीने यी प्रश्नले धनाको खाटा बसेका घाउ फेरी दुख्न थाल्यो । ‘म जल्नुको कारण त सबैले सोध्ने गर्थे तर केही पत्रकार हुँ भन्नेहरुले आगोमा जल्दा कस्तो अनुभव भयो ? शरीरमा लुगा टाँसिदा कस्तो महशुस भयो ? भन्ने प्रश्नहरु गर्न थाले,’ धना सुनाउँछिन्,‘मेरो समस्याको बारेमा कसैले सोधेका छैनन् अहिलेसम्म । कतिपयले भन्नु हुन्छ जल्दाको अनुभुती गरेर भावानामा डुबेर कुराकानी गर्नुस् ।’

राज्यको चौथो अंग मानिने पत्रकारहरुले उनको आँसु र दुखहरुको व्यापार गरेको धनालाई लागेको छ । मिडियाले धना जल्नुको समाजशास्त्रिय मुद्दालाई नबुझेको उनको आरोप छ ।

 

आमालाई घर परिवारले घृणा गर्ने र छाउगोठमा बस्नुपर्ने बाध्यताले जल्न पुगेकी हुन् – धना । यसको मूल जरो खोतल्दै जाँदा पितृसत्तासम्म पुग्नुपर्छ । पितृसत्ताले महिलामाथि लाखेको छाउपडी जस्ता प्रथाहरुको कारण धनाहरु जलिरहनु परेको छ । ‘यदि छाउगोठमा बस्नुपर्ने बाध्यता थिएन भने मेरी आमा छाउगोठमा हुन्थिनन् । उनी छाउगोठमा नभएको भए म आमाको काख खोज्दै जानुपर्ने थिएन,’ धना भन्छिन्,‘यदि महिला भनेर मेरी आमालाई नदबाइएको भए म जल्नु पर्दैनथ्याे ।’

 

 

 

 

 

 

सम्बन्धित खबर