काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको उद्धार टोली केहीबेरअघि मात्रै खटिएको छ । सामाजिक संजाल तथा केही अनलाइन सञ्चार माध्यमले भने नेपाली सेनाको हेलिकोप्टारले उद्दार गरिसकेको भन्दै पुरानो तस्विर राखेर भाइरल बनाएका छन् ।
सामाजिक सञ्जालमा देखिएको हेलिकोप्टरको कलर नेपाली सेनाको जस्तो देखिएकाले धेरैले त्यही फोटोलाई विश्वास गर्दै उद्दार भइसकेको बताएका थिए । तर, उक्त तस्विर नै फेक रहेकाको पाइएको छ ।
सामाजिक संजालमा भाइरल भएको उक्त तस्विर फ्रान्सका फोटो पत्रकार जुलियन बोटेलाले सन् २०२१ मा हाइभोल्टेज प्रशारण लाइनमा काम गरिरहेका व्यक्तिको तस्विर खिचेका थिए । उक्त तस्विरले रोटोर म्यागिजन फोटो प्रतियोगितामा अवार्ड समेत जितेको थियो ।
सेनाको टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका बेलकोट गढी नगरपालिका–१२ का माइला विकलाई त्यहाँबाट उद्धार गर्न सकिएको छैन । केहीबेर अघि टोली त्यहाँ पुगेपनि हालसम्म उनको उद्दार भएको आधिकारिक खबर आएको छैन ।
अनलाइन खबरलाई ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए अनुसार नेपाली सेनाको उद्धार टोली विकको उद्धार गर्न प्रसारण लाइनको खम्बामा चढेका छन् ।
नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए । त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन मानेका छैनन् ।
उनी प्रसारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रसारण लाइनमा विद्युत प्रवाह रोकेको छ ।
अपडेट :
नेपाली सेनाले प्रसारण लाइनमा झुण्डिएर हिँडेका माइलाको सकुशल उद्दार गरेको छ । उनलाई होलिकोप्टरबाट उद्दार गरि ललितपुरस्थित पाटन मानसिक अस्पतालमा ल्याउनउे तयारी गरिएको छ ।