साना किसान सहकारीको एक करोड ३६ लाख ठगी गर्ने सिन्धुपाल्चोक एमाले नेता गजुरेल जेल चलान !

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ २९, २०७९ | १४:४१:४८

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकका नेता टंक गजुरेल एक करोड ३६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको अभियोगमा जेल चलान भएका छन् । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतले तोकेको ८० लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि जेल चलान गरेको हो ।

गजुरेलले सिन्धुपाल्चोक हेलम्बु गाउपालिका ७ इचोकमा रहेको नवजीवन साना किसान कृषि सहकारीको रकम नक्कली ऋणी खडा गरि ठगि गरेको पाइएको थियो । गत वैशाख १८ गते दियोपोस्ट डटकमले उनले गरेको ठगीधन्दाबारे समाचार प्रकाशन गरेको थियो ।

सहकारीका अध्यक्ष गजुरेलको नेतृत्वमा सहकारीको एक करोड ३६ लाख भन्दा बढी रकम हिनामिना गरि ठगी गरेको जिल्ला सरकारी वकिलको कार्यालय सिन्धुपाल्चोकले ठहर गरेको छ ।

उनी सहित सहकारीका प्रबन्ध निर्देशक शर्मिला भट्टराईलाई पनि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । उनी भने फरार रहेकी छिन् ।

जेठ २४ मा जिल्ला अदालत सिन्धुपाल्चोकमा दायर भएको अभियोगपत्रका अनुसार उनीसहित शर्मिला भट्टराई विरुद्ध सहकारी ऐन, २०७४ को दफा १२२ (घ), (च) र (छ) बमोजिम कसुर गरेको पुष्टि भएको छ । उक्त ऐन अनुसार गजुरेललाई चार वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सरकारी वकिल कार्यालयले गजुरेल र भट्टराईको सम्पत्ति रोक्का गर्न समेत माग गरेको छ ।

गजुरेललाई सिन्धुपाल्चोक प्रहरीले गत वैशाख ३१ गते पक्राउ गरेको थियो । जिल्ला अदालत सिन्धुपाल्चोकले उनलाई गत जेठ २५ गते कारागार चलान गरेको हो ।

 

 

सम्बन्धित खबर