भिजिट भिषामा रोकिएन ठगीधन्दा : सुर्यराजको जोडी, जो दुबई बसेर नेपाली युवा ठगिरहेछन् !

दियो पोस्ट  

काठमाडौं । भिजिट भिषाको नाममा दुबईमा मानव तस्करी गर्दै आएका गिरोहका नाइके कोमलराज उपाध्यायलाई दुबई प्रहरीले पक्राउ परिसकेका छन् । उनकी पत्निसहित ५ जालाई यता नेपाल प्रहरीले पक्राउ गरि केहीदिन अघि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । केही पात्रलाई पक्राउ गरेपनि भिजिट भिषाको नाममा हुने मानव तस्करी रोकिएको छैन । पछिल्लो समय यो एउटा ठूलो ठगीधन्दा नै बनेको छ ।

यसरी ठगी गर्नेहरुको पोल थप खुल्दै गएको छ । स्याङ्जा घर भएका आफूलाई सुर्यराज गिरी समेत भनेर चिनाउने ईश्वरराज गिरीले विभिन्न व्यक्तिलाई भिजिट भिषामा काम दिलाइदिन्छु भन्दै ठगी धन्दा चलाउन गरेको खबर छ ।

उनले आफ्नी श्रीमति समेत रहेकी सञ्चिता भूजेलको समेत मिलेमतोमा ठगी गर्दै आएको पीडितहरुले बताएका छन् । उनीहरुले भिजिट भिषामा दुबई पुर्याउँछु भन्दै काठमाडौैंमा तविता गुरुङको नाममा रहेको एनएमबी बैंकको खातामा पैसा संकलन गर्ने गरेको पीडितहरुको गुनासो छ । हाल दुबईमै रहेका गिरीले दर्जनौँ व्यक्तिलाई भिजिट भिषामा दुबई लगेर काम दिलाइदिन्छु भन्दै ठगी गरेको पीडितहरुले दियोपोस्टलाई बताएका छन् ।

कोमलराज उपाध्यायबाटै ठगिएका श्रीराम रानाभाट समेत गिरी दम्पत्तिबाट ठगिएका छन् । उनले तविता गुरुङको खातामा पैसा पठाएका थिए । तर, गिरीले काम लगाइदिन्छु भन्दै प्रलोभन मात्रै देखाएर आफूलाई ठगी गरेको रानाभाटले बताए । उनका अनुसार गिरीले विभिन्न व्यक्तिलाई आश्वासन दिएर ठगी गरेका छन् ।

सुर्य प्रसाद र उनकी श्रीमती सञ्चिता मिलेर ठगी धन्दा चलाउँदै आएको आरोप छ । गिरीले कम्प्युटरमा पीडितहरुको नाम राख्ने र तपाईको भिषामा नाम आइसक्यो सलेक्सन पनि भइसक्यो पैसा यति हाल्दिनुस् भन्दै दर्जनौँ युवालाई ठगी गरेको आरोप छ ।

नेपाली युवाहरुलाई भिजिट भिषाको नाममा करोडौँ ठगी गर्ने कोमलराज उपाध्यायको ठगीधन्दाबारे पहिलो पटक दियोपोस्टले खबर छापेको थियो ।

सोही खबरका आधारमा उनी दुबईमा पक्राउ परेका थिए । यस्तै ठगीको रकम आफ्नी श्रीमतीको खातामा समेत राख्न लगाएको पाइएपछि सिआइबीले उपाध्यायकी पत्नि रञ्जना ढकाल प्याकुरेल सहित ५ जनालाई पक्राउ गरि मुद्दा चलाएको छ ।